हामी देशको माया भएकाहरु

विचार
खवर पाटी (खोज खबरको अभियान)

सनत गिरी

नेपालका प्रमुख दलहरु आफ्ना सिद्धान्तबाट विचलित भएको बेला, जनताको समस्याप्रति सिद्धान्तबाट विचलित भएको बेला, जनताको समस्याप्रति ध्यान नदिएको बेला, विकास निर्माणमा ध्यान नदिएको बेला भ्रष्टाचारमा चुर्लुम्म डुबेको बेला कसले देला, कुन पार्टीले देला त विकल्प । भर्खरै खुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफुले राजनीतिक संकल्प दिने बताए पनि यदाकदा यो पार्टीको गतिविधी हेर्दा यो पार्टीले पनि विकल्प दिने छाटकाट देखिदैन । खाली कोरा राजनीतिको भाषण छाट्न मात्र रवि लामिछानेहरु व्यस्त देखिन्छन् । जनता दिन दिनै झन झन भोकै वस्तु परेको अवस्था छ, महँगी बढिरहेको छ । देशमा एक पछि अर्को प्रकरण, काण्डहरु सार्वजनिक छँदै छ । यो विषयलाई जोडदार रुपमा सडनमा, सडकमा उठाउने कोही भएनन् भनेर स्वयं जनताले नै भनिरहेका छन् ।

त्यसो त अरु पार्टी भन्दा फरक धार बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि खाली कोरा र सतही मात्र रुपमा अघि बढ्न चाहेको देखिन्छ । राप्रपामा राजेन्द्र लिङ्देन उदाएपछि केही रुपमा राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको छ । बढ्दै जाने क्रममा छ । यस क्रममा राप्रपाले नविन राप्रपा अभियान घोषणा गरेको छ । यो अभियान पार्टी विस्तारको लागि मात्र सिमित नहोस् । जनताका जल्दा बल्दा समस्यालाई बुझ्ने, समाधान गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ । कैयौन जनता भोक भोकै बस्नु परेको के राप्रपाका नेताहरुलेलाई थाहा छैन ? बेरोजगार भएर विदेशिनु परिरहेको थाहा छैन ? के मात्र भनौ भने कांग्रेस कम्युनिष्टले त जनताको समस्या बुझेनन् , थाहा नपाए जस्तो गरे । अब राप्रपाले त केही गर्ला भनेर जनताले विशेष रुपमा हेरिरहेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता एवं उपाध्यक्षहरु बुध्दिमान तामाङ, ध्रुवबहादुर प्रधानसहितका नेताहरुप्रति जनआकर्षण छ । ज्ञानेन्द्र शाही र रविन्द्र मिश्र राप्रपामा भित्रिए पछि केही रुपमा राप्रपाको संगठनमा भरथेक भइरहेको देखिन्छ ।

त्यसो त राप्रपाको सिद्धान्त हिन्दु शन्य र राजसंस्था हो । राजसंस्था पूनरवहालीको लागि एकल संघर्ष गरेको पार्टी राप्रपा हो । राप्रपाले राम्रो काम गरेर देखायो भने राप्रपाले बोकेको सिद्धान्तमा जनमत बढ्ने कुरामा दुईमत छैन । यहाँ पीडाले रुनेहरु धेरै छन् । मिटर व्याजी पीडित हजारौँ जनता छन् सयको हजार, हजारको लाख, लाखको करोड तिर्नु परेको हामीले देखे, सुनेकै कुरा हो । यो कुरा संसदमा जोडदार रुपमा उठ्दैन । मिटरव्याजीलाई कारवाही गर्न कानुन त बन्यो, कानुन आफै बोल्दैन, कानुन आफै लागु हुने होइन । त्यसैले जनताले महँगी, भ्रष्टाचार, अनियमिता र आफ्ना पीडा बुझ्ने, आवाज उठाउने पार्टी खोजि रहेका छन् । के यस्तो अवस्थामा राप्रपा, रास्वपाले विकल्प देलान् त ? जनताको समस्या उठान गर्लान त ? भनेर मात्र हुँदैन, जनताको समस्या बुझ्ने यो देशमा पार्टी चाहिएको छ , राजनेता चाहिएको छ । यहाँ झुक्याउनेहरु धेरै देखिए । चुनावमा एउटा कुरा चुनाव जितेपछि अर्को व्यवहार गर्छन् सांसदहरु । यहाँ जित्नेहरुको बोलवाला छ, हार्नेहरुको आवाज कोही सुन्दैनन् । पैसाको भरमा चुनाव जितेर चुनावमा खर्च भएको व्याजसहित असुली गर्न लाग्ने धेरै देखिएका छन् । त्यसैले यो देशमा माटोको माया भएको, जनताको माया भएको, राष्ट्रिय स्वाभिमानमा अडिग रहने जनताको पिरमर्का बुझ्नेहरु चाहिएको छ ।

यहाँ ठूला ठूला काण्ड हामीले देख्यौ, भोग्यौ । यति काण्ड देखियो, ओम्नी काण्ड देखियो, प्रिन्टिङ प्रेस काण्ड देखियो, ३३ केजी सुन काण्ड देखियो, नेपाल ट्रस्टका कुरा देखिए, सगरमाथा निकुञ्जमा जग्गा प्रकरण देखियो । हामीले देखेका काण्डहरु चर्चामा आउँदै सेलाउदै सामसुम भए । अहिले तिन वटा काण्ड चर्चामा छ । ललिता निवास प्रकरणले त पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, डा बाबुराम भट्टराईलाई समेत थर्कमान पारेको अवस्था छ । हुन त उहाँहरुले नजानेर, नबुझेर मन्त्रिपरिषदबाट निर्णय गरेको हुन सक्छ । तर उहाँहरुको यस प्रकरणमा संलग्नता त देखियो नि ।यो प्रकरणमा सयौ संलग्न भएको देखिन्छ । राष्ट्रिय सम्पत्तिको लुटको धन फुपुको सराध्य पारेको पुष्टी हुँदै छ ।

झन नक्कली भुटानी शरणार्थी प्रकरणले त नेपालको अन्तर्राष्ट्रिय रुपमै बेइज्जत भयो । नेपालीलाई विदेशी नागरिक बनाएन, जनघात हो, राष्ट्रको अपमान हो, राष्ट्रघात हो, बेइमानी हो । जनतालाई ठग्ने मात्र होइन अन्तर्राष्ट्रिय रुपमा देशको अपमान गर्नेको सर्वस्व हरण गरेपनि पाप लाग्दैन । त्यसै गरी सयकिलो सुन प्रकरण यति बेला चर्चामा छ । तर नेताहरु, व्यापारीहरु कसरी बच्ने भन्ने ध्यानमा लागेको देखिन्छ । एक अर्ब पर्ने सुन सामान्य व्यक्तिले ल्याउनै सक्दैन । यदि सुन प्रकरणलाई जरोेसम्मै छानविन गरियो भने भविस्यमा सुन तस्करी गर्ने घट्लान् त कि !

यो त भयो केही काण्डका कुरा ! अब कुरा गरौ राजनीतिकक अस्थिरताका कुरा, कोही प्रदेशमा अहिले कस्तो राजनीति भए । सत्तामा पुग्न सभामुखलाई समेत राजिनामा गराइयो, मन्त्री बनाइयो । केन्द्रमा पनि स्थिर सरकार रहने ग्यारेन्टी देखिदैन, बुझिदैन । कांग्रेस सभापति शेरबहादुर देउवालाई चित्तबुझ्दा सम्म प्रचण्ड प्रधानमन्त्री रहने हुन भनिदैछ । यदि प्रचण्ड हटे भने कस्तो सरकार बन्छ, यो अहिले कल्पना नगरौ । यति मात्र भनौ देशका लागि प्रचण्डहरु वफादार बनुन् । भ्रष्टाचारको फाइलहरु खोलुन । हामी देशको माया भएकाहरुले भन्ने यति हो ।

देशमा भएका भ्रष्टाचार अनियमितताको छानविन गर्ने हो भने २०४६ साल पछि भएका सबै प्रकरणको छानविन गर्नुपर्छ । एउटा काण्डमा एक दिन, एक महिना रमाउदैमा ,चर्चामा आउदैमा केही हुनेवाला छैन । यो विस्तारित हुनुपर्छ, भ्रष्टाचारमा संलग्न भएका जो कोहीलाई नडराइ छानविन गर्नुपर्छ । यतिबेला हाम्रो देश आर्थिक रुपले जर्जर छ, बैंकहरुले आफु खुसी व्याज बढाइरहेका छन् बस मोटरमा आफु खुसी भाडा छ । पेट्रोलियम पदार्थमा दिनदिनै भाउ बढ्छ । भन्दा रिसाउने, नभन्दा नहुने अवस्था छ देशमा ।
त्यसो त राजनीतिक अस्थीरताकै कारण सुन काण्ड देखा परेका छन् । जब देशमा राजनीतिक अस्थीरता हुन्छ । तब अवैध रुपमा सुन ल्याउनेलाई सुनौलो अवसर मिल्छ । अवैध व्यापार गर्नेलाई अवसर मिल्छ । त्यसैले हामीले देशमा राजनीतिक स्थिरता होस् भने कामना गर्नै पर्छ । सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि प्रमुख दलका नेताहरुनै प्रधानमन्त्री प्रचण्डसँग रिसाएको सुन्नमा आएको छ, बुझिन्छ पनि । यदि देशमा सामसुम भएका भ्रष्टाचारका फाइल खोल्न प्रचण्डले आँट गरे भने भविस्यमा उनको नाम स्वर्णीम अक्षरले लेखिने छ । जनताले सम्झि रहने छन् ।

मैले सुरुमा कुरा उठाएको राजनीतिक विकल्प मात्र होइन, भ्रष्टाचार नर्मुल गर्ने, आँट गर्ने पार्टीको कुरा उठाएको हुँ । हुन त राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैया घुस खानुस भनेको आमाको रगत खानु हो, भन्नु भएको छ । यो व्यवहारमा देखिनुपर्छ । एउटा भाषणले एउटा प्रतिबद्धताले मात्र पुग्दैन । जनताका देशका अनेकौ समस्या छन्, गर्नु पर्ने कामहरु धेरै छन् । विकास भए, आर्थिक उन्नति प्रगति भए, भ्रष्टाचार निवारण भए, पार्टी राजनीति भए, यि सबै कुरामा इमान्दार देखिनुपर्छ राप्रपाहरु । त्यसो त विकल्प दिन्छ भनेर उदाएको रवि लामिछाने नेतृत्वको राजस्व पनि क्षणिक रमाइलो मात्र सावित हुने देखिँदैछ ।

यो देश प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीको वरिपरि घुमिरहेको छ । प्रधानमन्त्री भए यिनै हुने हुन् । जनताले यि तिनै नेतालाई राम्ररी चिनिसकेका छन् । क्षणिक भाषण गर्न यि नेताहरु खप्पिस छैन । तर जनताको दैनिक समस्या महँगी, बेरोजगारी, मिटरव्याजीलगायतका विषय यि नेताहरुको भाषणमा कतै देखिदैन, कतै सुनिदैन । कोरा राजनीतिको र आपसका घोचपेचमा भाषण टुङ्गिएको पाइन्छ, केन्द्रित रहेको पाइन्छ । त्यसैले यो अवस्थामा जनताले सहि, इमान्दार, जनताको सुख दुख बुझ्ने निर्णय क्षमता भएको नेतृत्व खोजिरहेको अवस्था छ । जे भएपनि धेरै थोर जनताको माया बोकेको देखिएको राजेन्द्र लिङ्देन, रवि लामिछानेहरु भने गम्भीर होउन् ।

(लेखक गिरी पत्रकार हुन्)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *