काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् ।
सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहोर्याए ।
शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यकता समेत औंल्याए । महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले काँग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे । महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिबिम्बित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।