काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन र नेपाली भूमि फिर्ता गर्न आग्रह गरेका छन् । आज बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन समेत आग्रह गरे ।
अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उनले मोदीलाई आग्रह गर्दै उनले पवित्र नेपाली भूमि फिर्ता गर्न आग्रह गरे ।
श्रेष्ठले भने, ‘इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको पनि बताए । तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
उनले उत्तरी छिमेकी चीन असल छिमेकी भए पनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको बताए । चीनले नेपालको सार्वभौमिकता अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति नदेखाएको कारणले हामी सम्मान गर्छौँ । तर यो सन्दर्भमा चीनलाइ पनि अनुरोध छ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जान–अन्जान आँच पुग्ने वा बल पुग्ने काम चीनको तर्फबाट हुनुहुँदैन ” ।
प्रवक्ता श्रेष्ठले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने मागसमेत गरेका छन् ।