काठमाडाैँ- दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टका रूपमा रहेको साफ महिला च्याम्पियनसिप मंगलबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने छ। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागी रहेका छन्।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिँदै छ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेका छन्। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असोज ३ गते हुने छ। नेपालले ५:३० मा आज भुटानविरुद्ध खेल्ने छ। साविक उपविजेता नेपाल पहिलो खेलबाटै आफ्नो प्रभावशाली प्रदर्शनको तयारीमा रहेको छ। नेपाल यो पटक एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रिँदै छ। नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा २८ भदौमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।