रैथानेबाली संरक्षण गर्दै हरिवन नगरपालिका

कृषि क्षेत्र समाचार

बरहथवा (सर्लाही), ३१ वैशाखः यहाँको हरिवन नगरपालिका रैथाने खेतीबाली संरक्षणमा जुटेको छ । पछिल्लो समय परम्परागत खेती प्रणालीसँगै रैथानेबाली लोप हुन थालेपछि रैथाने खेतीबाली संरक्षणमा नगरपालिका जुटेको हो । यस क्षेत्रमा केही वर्ष अघिसम्म प्रशस्त मात्रामा कोदो, आलस, कुर्थी, फापरलगायतका रैथानेबाली उत्पादन हुने गरेको थियो ।

मनग्य आम्दानी हुने लोभमा किसान आयातितखेती बालीतर्फ आकर्षित भएपछि रैथानेबाली लोप हुन थालेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताउनुभयो । स्वास्थ्य र पोषणको हिसाबले निकै उपयोगी रैथानेबाली संरक्षण गर्न पालिकाले कार्यक्रम सुरु गरेको प्रमुख बुढाथोकीको भनाइ छ ।

‘‘मानिस स्वादमा केन्द्रित भए’,’ प्रमुख बुढाथोकीले भन्नुभयो, ‘‘नमिठो, कम फल्ने, दुखियाखेती भनेर हेपेको रैथानेबाली त मानव स्वास्थ्यको लागि अमृत समान रहेछ । हामीले परिकल्पना गरेको स्वस्थ नगर औषधीय गुण भएको रैथाने खेती बिना सम्भव नभएको ठहर गर्दै कार्यक्रम अघि सारेका हौँ ।’’

अब पालिकामा कोदो, फापर, आलस, कुर्थी खेती गर्ने किसानले उत्पादन परिमाणको हिसाबले अनुदान प्राप्त गर्ने कृषि शाखा प्रमुख प्रवीण तामाङले बताउनुभयो । उहाँका अनुसार कोदो उत्पादन गर्ने किसानले प्रति क्वीन्टल दुई हजार र कुर्थी उत्पादन गर्ने किसानले प्रति क्वीन्टल दुई हजार ५०० का दरले अनुदान प्राप्त गर्ने भएका हुन् । यस आर्थिक वर्षमा आलस र फापर उत्पादनमा भने किसानले चासो नदेखाएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा यस पालिकाले जुनेलो खेतीलाईसमेत कार्यक्रममा समेट्ने उपप्रमुख हरिमाया घलानले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको रैथाने बालीको उपभोग मात्र गर्ने हो भनेपनि धेरै प्रकारका स्वास्थ्य समस्या न्यूनीकरण हुने उहाँको दाबी छ । ‘‘किसानले अन्न बेचेर कमाउनुपर्छ भन्ने छैन’’, उहाँले भन्नुभयो, ‘‘उत्पादन गरेको अन्नबाली बेचेर उपचार गर्नुपर्ने रोग आलस, कोदो, फापर खाएर नियन्त्रण गर्न सक्दा पनि फाइदा हुने रहेछ ।’’

नगरको रैथानेखेती प्रोत्साहन कार्यविधि अनुसार किसानले खेती लगाउनु भन्दा पहिला नगरमा सूचीकृत हुनुपर्छ । यसले उत्पादन तथ्याङ्कसमेत पालिकामा रहने उहाँको भनाइ छ । पहिलो पटक यहाँका किसानले नगरमा सूचीकृत भएर ८६.६७ क्वीन्टल कोदो र १२.५ क्वीन्टल कुर्थी(मस्याङ) उत्पादन गर्नुभएको छ ।

कार्यक्रम अन्तर्गत किसानलाई नगरले कूल दुई लाख ४० हजार ५९० रुपैयाँ अनुदानसमेत वितरण गरेको छ । प्रोत्साहन कार्यक्रममा सहभागी किसान दुर्गा तामाङले आफूहरूले नियमित गर्दै आएको खेतीमा प्रोत्साहन रकम पाउँदा उत्साह थपिएको बताउनुभयो । नगरले प्रोत्साहन गरे किसान रैथानेखेती गर्न तयार रहेको अर्का किसान सुवास श्रेष्ठले सुनाउनुभयो ।

यस पालिकाले ११ वटै वडामा कार्यक्रम सञ्चालन गरेको छ । विषेश गरी चुरे क्षेत्रका किसानले रैथानेबाली लगाउने गरेका छन् ।

Facebook Comments Box