पुष्पराज गिरी/
नेपाली साहित्यको सिर्जना र समालोचनाको क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका युवराज मैनाली स्रष्टा र द्रष्टा दुवै व्यक्तित्वका रूपमा परिचित छन् । सिर्जनात्मक लेखन र आलोचनात्मक चिन्तनका माध्यमबाट उनले नेपाली साहित्यिक फाँटमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन् । पछिल्ला वर्षहरूमा भने उनी विशेषतः लघुकथा लेखनतर्फ बढी केन्द्रित र क्रियाशील देखिएका छन् । कथा लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका मैनालीले त्यसपछि निबन्ध र समालोचनाको क्षेत्रमा पनि उत्तिकै सक्रिय उपस्थिति जनाए । समयक्रममा फेरि कथाकै एक संक्षिप्त तर प्रभावकारी रूप ‘लघुकथा’ मार्फत् आफ्नो सिर्जनात्मक अभिव्यक्ति प्रस्तुत गर्न थालेका उनी वि.सं २०७६ सालमा प्रकाशित ‘पृथक बाटो’ शीर्षकको बृहत् आयामको लघुकथा सङ्ग्रहका कारण लघुकथाकारका रूपमा पाठकसमक्ष उभिएका थिए । अहिले उनी आफ्नो दोस्रो लघुकथा सङ्ग्रह ‘पात्र विघटन’ मार्फत् पुनः एक सशक्त रुपमा देखा परेका छन् ।
वि.सं २०१७ साल चैत १० गते काभ्रेपलाञ्चोक जिल्लाको कानपुरमा जन्मिएका मैनालीले इतिहास विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । आजीविकाको आधार निजामती सेवालाई बनाएका उनले देशका विभिन्न जिल्लामा रहेर प्रशासनिक जिम्मेवारी निर्वाह गरेका थिए । दीर्घ सेवापछि उपसचिव पदबाट अवकाश प्राप्त गरी हाल उनी सेवा निवृत्त जीवन बिताइरहेका छन् । यद्यपि प्रशासनिक जीवनसँगै उनले साहित्यिक सिर्जनालाई कहिल्यै टाढा राखेनन् बरु सुरुदेखि नै साहित्यप्रति गहिरो रुचि राख्दै निरन्तर लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । युवराज मैनालीको व्यक्तित्वलाई हेर्दा त्यसका दुई प्रमुख आयाम स्पष्ट देखिन्छन्— ‘एक प्रशासनिक व्यक्तित्व र अर्को साहित्यिक व्यक्तित्व । प्रशासनिक क्षेत्रमा उपसचिव पदबाट सेवा निवृत्त भए पनि साहित्यिक क्षेत्रमा भने उनको सक्रियता बहुआयामिक देखिन्छ ।
कथा, निबन्ध र समालोचनाका विविध क्षेत्रमा कलम चलाउँदै आएका मैनालीले ‘मुर्दा बोल्यो’ (२०३७) शीर्षक कथा सङ्ग्रह तथा ‘पृथक बाटो’ (२०७६) लघुकथा सङ्ग्र्रह मार्फत् आफूलाई कथाकारका रूपमा स्थापित गराएका थिए । त्यस्तै ‘भ्रष्टाचारको भाङ’ (२०६५) शीर्षक हास्यव्यङ्ग्य निबन्ध सङ्ग्र्रह मार्फत् उनले हास्यव्यङ्ग्य निबन्धकारका रूपमा पनि आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका छन् । यसका अतिरिक्त ‘केही प्रतिभा केही प्रवृत्ति’ (२०४२), ‘समको पौराणिक नाट्य कौशल’ (२०६९), ‘कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण’ (२०६९) तथा ‘दृष्टि–दृष्टिकोण’ (२०७९) जस्ता समालोचना सङ्ग्रहहरू मार्फत् उनले आफूलाई एक गम्भीर समालोचकका रूपमा पनि स्थापित गरेका छन । यी पुस्तकाकार कृतिहरूका अतिरिक्त विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका कथा, निबन्ध र समालोचनात्मक लेखहरूले पनि उनको निरन्तर र बहुविध साहित्यिक सक्रियताको प्रमाण दिंदै आइरहेका छन् । अहिले भने उनका नवीन कृति लघुकथा सङ्ग्रह ‘पात्र विघटन’ र लघुकथाकै आयामहरुका बारेमा केन्द्रित रहने जमर्को गरौं ।
नेपाली साहित्यमा लघुकथा विधा पछिल्लो समय अत्यन्त सशक्त र लोकप्रिय अभिव्यक्तिमाध्यमका रूपमा विकसित हुँदै आएको छ । संक्षिप्त संरचना, तीक्ष्ण कथ्य र गहिरो सन्देश प्रस्तुत गर्ने क्षमताका कारण लघुकथा आधुनिक जीवनशैलीसँग अनुकूल विधा मानिन्छ । व्यस्त जीवन, तीव्र सामाजिक परिवर्तन र मानवीय सम्बन्धमा आएको जटिलताको चित्रण गर्न लघुकथाले प्रभावकारी भूमिका खेलेको देखिन्छ । यही सन्दर्भमा प्रकाशित ‘पात्र विघटन’ नामक लघुकथा सङ्ग्रहले समकालीन समाजका विविध परिघटनालाई कथाको आधार बनाएर समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको छ । यस सङ्ग्रहका कथाहरूमा सामाजिक संरचना, मानवीय सम्बन्ध, नैतिक मूल्यको सङ्कट र आधुनिक जीवनका द्वन्द्वलाई व्यङ्ग्यात्मक र आलोचनात्मक दृष्टिले प्रस्तुत गरिएको पाइन्छ । त्यसैले यस कृतिको साहित्यिक महत्वलाई समकालीन लघुकथासँग तुलना गर्दै अध्ययन गर्नु आवश्यक देखिन्छ । ‘पात्र विघटन’ शीर्षकले नै कृतिको मूल विचारलाई सङ्केत गर्दछ । साहित्यमा पात्र केवल कथा अगाडि बढाउने माध्यम मात्र होइन, सामाजिक संरचना, मानसिकता र मूल्य प्रणालीको प्रतिनिधि पनि हुन्छ । ‘विघटन’ शब्दले स्थापित मान्यता, सामाजिक ढोंग, र मानवीय व्यवहारका विरोधाभासहरूलाई भत्काउने वा विश्लेषण गर्ने भाव व्यक्त गर्दछ ।
यस अर्थमा सङ्ग्रहका कथाहरूले समाजका पात्रहरूलाई आदर्शीकृत रूपमा होइन, यथार्थपरक र आलोचनात्मक दृष्टिले प्रस्तुत गरेका छन् । कथाका पात्रहरू कहिलेकाहीं नैतिक द्वन्द्वमा फसेका, सामाजिक दबाबमा बाँचेका र परिवर्तनशील समाजसँग सङ्घर्ष गरिरहेका व्यक्तिका रूपमा देखिन्छन् । कथावस्तु र सामाजिक परिवेशका दृष्टिले ‘पात्र विघटन’ का कथाहरूमा समकालीन समाजका विविध आयामहरू प्रतिबिम्बित भएका छन् । सामाजिक असमानता, नैतिक मूल्यको पतन, आधुनिक जीवनशैलीको प्रभाव, पारिवारिक सम्बन्धमा आएको दूरी र व्यक्तिको आत्मकेन्द्रित प्रवृत्ति जस्ता विषय कथाको मूल आधार बनेका छन् । लेखकले समाजका सामान्य घटनालाई कथा–वस्तुका रूपमा प्रयोग गर्दै त्यसको गहिरो अर्थ प्रस्तुत गरेका छन् । सानो घटनाबाट ठूलो सामाजिक सन्देश दिने क्षमता लघुकथाको मुख्य विशेषता नै हो, र यस सङ्ग्रहमा पनि त्यही प्रवृत्ति देखिन्छ । कथाहरूले समाजको यथार्थलाई प्रत्यक्ष रूपमा मात्र नभई प्रतीकात्मक र व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन् । यसले कथालाई बहुआयामिक बनाएको छ ।
कथा सङ्ग्रहमा समेटिएका कथा भित्रका पात्र चित्रणलाई हेर्ने हो भने पनि यस सङ्ग्रहका पात्रहरू मुख्यतः सामान्य सामाजिक परिवेशबाट आएका देखिन्छन् । मध्यमवर्गीय जीवन, दैनिक सङ्घर्ष, सामाजिक दबाब र नैतिक द्वन्द्वले ग्रसित पात्रहरू कथामा सोझै नभएर प्रवृत्तिगत रुपमा प्रमुखतासका साथ देखाइएको छ । लेखकले पात्रहरूको बाह्य क्रियाकलापभन्दा बढी उनीहरूको मानसिक अवस्थालाई उजागर गर्ने प्रयास गरेका देखिन्छन् । पात्रहरूको मनोवैज्ञानिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत इच्छाबीचको सङ्घर्षका कथानकतालाई व्यङ्ग्यात्मक रुपमा कथाको मुख्य आकर्षण बनेको पाइन्छ । कतिपय कथामा पात्रहरू व्यक्तिगत व्यक्ति मात्र नभई समाजका प्रतिनिधि पात्रका रूपमा पनि देखिन्छन् । यसले कथालाई सामाजिक यथार्थसँग जोड्ने काम गरेको छ ।
लघुकथा विधामा कथाशिल्प अत्यन्त महत्वपूर्ण मानिन्छ । छोटो आकारभित्र गहिरो सन्देश दिनु लघुकथाकारको मुख्य चुनौती हो । ‘पात्र विघटन’ मा कथाशिल्पका केही विशेष पक्षहरू देख्न सकिन्छ । कथाहरू अनावश्यक विवरणबाट मुक्त छन् । लेखकले छोटो संरचनाभित्र कथाको मूल सन्देश प्रस्तुत गरेका छन् । यद्यपि हरेक जसो कथामा कथाकारले व्यङ्ग्यात्मक अभिव्यक्तिलाई प्रधानता दिएकै छन् । सामाजिक विसङ्गति र विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नु यस सङ्ग्रहको प्रमुख विशेषता हो । व्यङ्ग्यले कथालाई तीक्ष्ण र प्रभावकारी बनाएको छ । यसबाट पनि कथाकार एक व्यङ्ग्य चेतनाका कुशल शब्दशिल्पिका सिद्धहस्त नै हुन् भन्न सकिन्छ । यसका अलावा प्रस्तुत कथाकृतिमा समावेश कतिपय कथाहरुमा प्रतीकात्मकता र प्रत्यक्ष कथनभन्दा सङ्केतात्मक प्रस्तुति बढी देखिन्छ । यसले पाठकलाई कथा बुझ्न र व्याख्या गर्न सक्रिय बनाउँछ । समकालीन नेपाली लघुकथामा केही प्रमुख प्रवृत्तिहरू देखिन्छन् । जस्तो कि सामाजिक यथार्थवाद, व्यङ्ग्यात्मकता, मनोवैज्ञानिक विश्लेषण र संक्षिप्त संरचना । ‘पात्र विघटन’मा पनि यी प्रवृत्तिहरू स्पष्ट रूपमा देखिएका छन् । सामाजिक समस्यालाई सानो घटनाबाट उजागर गर्ने शैली, पात्रको मानसिक द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास र व्यङ्ग्यात्मक दृष्टिकोण समकालीन लघुकथाको मुख्य प्रवृत्तिसँग मेल खाने पक्षहरू हुन् । यस अर्थमा यो कृति आधुनिक लघुकथा परम्परासँग नजिक देखिन्छ ।
यद्यपि ‘पात्र विघटन’ धेरै पक्षबाट सफल कृति भए पनि केही सीमाहरू पनि देखिन्छन् । पहिलो, केही कथाहरूमा कथानकको अन्त्य अनुमान गर्न सकिने देखिन्छ । लघुकथामा अप्रत्याशित मोड कथालाई अझ प्रभावकारी बनाउँछ, तर केहीकेहीमा कथामा यस्तो मोड कम देखिन्छ । दोस्रो, लघुकथाको सीमित आकारका कारण पात्रहरूको मनोवैज्ञानिक विस्तार कहिलेकाहीं अपूर्ण जस्तो पनि लाग्नसक्छ । तेस्रो, केही स्थानमा लेखकको विचार प्रत्यक्ष रूपमा प्रस्तुत भएको अनुभूति हुन्छ, जसले कथाको कलात्मकता केही कमजोर बनाएको हो कि भन्ने अनुभव हुन सक्छ । केही कथामा आध्यात्मिक प्रेरणा देखिएता पनि कथाकारको वैयक्तिक नैराश्यता कथामा कतै–कतै छल्किएका पाइन्छन् । समग्रमा ‘पात्र विघटन’ समकालीन नेपाली समाजका विविध यथार्थलाई उजागर गर्ने महत्वपूर्ण लघुकथा सङ्ग्रहका रूपमा उभिएको पाउन सकिन्छ । व्यङ्ग्यात्मक शैली, सामाजिक यथार्थको प्रस्तुति र पात्रको मनोवैज्ञानिक द्वन्द्व यसको प्रमुख विशेषता हुन् । यस कृतिले समाजका विसङ्गति र मानवीय व्यवहारका विरोधाभासहरूलाई उजागर गर्दै पाठकलाई आत्ममन्थन गर्न प्रेरित गर्छ । समकालीन लघुकथाको प्रवृत्तिसँग सामञ्जस्य राख्दै पनि आफ्नै वैचारिक दृष्टिकोण प्रस्तुत गर्नु यस सङ्ग्रहको उल्लेखनीय पक्ष हो । त्यसैले ‘पात्र विघटन’ लाई आधुनिक नेपाली लघुकथा साहित्यमा सामाजिक यथार्थ र व्यङ्ग्यात्मक चेतनालाई अभिव्यक्त गर्ने प्रभावकारी कृतिका रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।
