‘बाढीले अन्नपात बगायो, दसैँका लागि खानेकुरा पनि छैन’

अर्थ/उद्योग उपभोक्ता मुख्य समाचार समाचार

दोधारा चाँदनी (कञ्चनपुर), ४ असोज: कञ्चनपुरमा गत भदौमा अविरल वर्षापछि आएको बाढीका कारणले डुबान हुँदा सयौँ परिवार विस्थापित भए । विस्थापित भएकाहरू घर त फर्किए, तर घरमा रहेको अन्न, लुत्ताकपडा र भाडाकुँडा बाढीले बगाएकाले खान लाउन समस्या भोग्नु परेको छ ।

यहाँको दोधारा चाँदनी नगरपालिकामा–४ मा जोगबुडा नदीको बाढी बस्ती पस्दा ठूलो नोक्सानी भएको थियो । वडा नं ३, ८, ९ र १० का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् । यहाँका एक सय ६५ परिवार बाढीबाट विस्थापित भएका छन् । बस्ती पसेको बाढीले लुत्ताकपडादेखि अन्न बगाएपछि चाडपर्वमै कसरी हातमुख जोर्ने भन्ने समस्या आइलागेको छ ।

दोधारा चाँदनी–१० शान्तीटोलका वृद्धकली सार्कीले भन्नुभयो, “घरभित्र रहेका अत्यावश्यक सबै कुरा बाढीले बगायो । त्यसबेला ज्यान त जोगायौँ, तर के खाएर बाच्ने ? बाढीले अन्नपात सबै बगाएपछि साझ बिहानको छाक टार्नसमेत मुस्किल भएको छ ।”

गतवर्ष पनि यस्तै समस्या आएको थियो । त्यस बेला सरकारले दाल चामल सहयोग गरेकाले दसैँमा जसोतसो गुजारा टरेको थियो । सार्कीले भन्नुभयो, “यसपटक पनि पालिकाले केही भाडाकुँडा त दिएको छ, तर पकाउनलाई अन्न छैन । हाल सरकार आफैँ समस्यामा परेकाले राहत पाइने आशा पनि टुटेको छ ।”

स्थानीय चम्पा सार्कीले धेरै विस्थापित बालबालिका छोडेर रोजगारी गर्न छिमेकी देश भारत पुगेको बताउनुभयो । “एक बिघामा लगाएको धान सबै लेदोले पुरेको छ । बाहिर त समस्या भयो नै, घरभित्रको पनि रहेन”, उहाँले भन्नुभयो, “बाढीले केही राखेन अन्नपात लत्ताकपडा सबै बगाइदियो । सुरक्षाकर्मीको सहयोगमा बाढीबाट ज्यान जोगिए पनि अन्नपात जोगाउन नसक्दा समस्यामा परेको छ ।”

बाढीले समस्या भएपछि शान्तिटोलका हेमु सार्कीका आमाबुवा रोजगारीका लागि भारत जानुभएको छ । १३ वर्षीया हेमुलाई छिमेकीको जिम्मा लगाएर सार्की दम्पत्ति रोजगारीका लागि भारत जानुभएको हो । “घरभित्र केही बाँकी छैन । पालिकाले केही भाडाकुँडा दिएको छ, तर त्यसमा के पकाउने ? लत्ताकपडा, अन्नपात केही छैन”, उहाँले भन्नुभयो, “घरमा केही नरहेपछि आमाबुवा भारत गएका छन् । म हजुरआमाको घरमा बस्छु ।”

दसैँको समयमा विद्यालय बिदा भएकाले यहाँका थुप्रै स्थानीय रोजगारीका लागि भारत गएका छन् । पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खायाममा हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।

Facebook Comments Box