राप्रपाप्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छ: यमबहादुर खाँड ठकुरी

अन्तर्वार्ता

समाजसेवी स्वभावका पूर्व शिक्षक यमबहादुर खाँड ठकुरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्छ । हिन्दु राज्य र राजसंस्था पूनस्थापना गर्ने उद्देश्यले चुनावमा उठ्नु भएका ठकुरी आध्यात्मिक आचण भएको व्यक्ति हुनुहुन्छ । धार्मिक सस्कारलाई व्यवहारमा उतार्ने व्यक्ति हुनुहुन्छ । जनताको सेवा नै धर्म हो भन्ने आदर्श बोक्नु भएका ठकुरी जस्तो बोले उस्तै पु¥याउनु पर्छ भन्ने स्वभावका हुनुहुन्छ । उहाँ सरल र सत्यवादी व्यवहारका हुनुहुन्छ । प्रस्तुत छ राप्रपा उम्मेदवार यमबहादुर खाँड ठकुरीसँग गरिएको कुराकानी :

तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नु भएको छ । कस्तो लागि रहेको छ ?

राप्रपा जस्तो राजसंस्थावादी, हिन्दुवादी, भ्रष्टाचार विरोधी र विकासवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा तनहुँ २ बाट उम्मेदवार बन्न पाउदा म मनैदेखि खुसि र उत्साहित भएको छु । राप्रपा जस्तो इमान्दार र सत्यनिष्ट उद्देश्य बोकेको पार्टीबाट चुनावमा उठ्नु पाउन आफैमा सुखद क्षण हो । मलाई मनैदेखि राजसंस्था र हिन्दुधर्मको माया छ । म चाहान्छु चाडो भन्दा चाडो नेपालमा राजसंस्था र हिन्दु राज्य पूनस्थापना होस् । हिन्दु धर्मको माया बोकेर चुनावी मैदानमा छु । म राजसंस्था र हिन्दुराज्य पूनस्थापनाका लागि सधै संघर्षरत रहदै आएको छु । संघर्ष गरिरहेछु । म राप्रपाले लिएको यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो, भयो यस पटक यो राप्रपाले जित्ने क्षेत्रका रुपमा स्थानीय वासिन्दाले मूल्याङ्गन गर्नु भएकोमा म मनदेखि उतसाहित पनि छु । यस क्षेत्रमा मेरो वेग्लै परिचय छ । यस क्षेत्रमा राजनीति गरे, समाजसेवा पनि गरे । अब चुनाव पनि यहि उठिरहेको छु । आगामी दिनमा पनि यहिका जनताको सेवा गर्ने प्रण गर्दछु । मलाई यस क्षेत्रका जनताले तपाई राप्रपाबाट चुनावमा उठ्नु प¥यो, हामी जिताउँछौ भनेको अवस्था हो । मलाई लाग्छ म पक्का जित्छु, यहि बाट राप्रपाको एजेण्डा स्थापित गर्ने काम हुनेछ । म राप्रपा भए पनि सबै जनतालाई समान व्यवहार गरिरहेको छु । सरसर्ती भन्नुपर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले मैले जित्ने आधार धेरै छ । म जितेपछि पनि सबै मतदाताको मतलाई सम्मान गरेर अघि बढ्नेछु  ।

यमबहादुर खाँड ठकुरी
प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, तनहुँ–२

यस क्षेत्रमा राप्रपाको सङ्गठन कस्तो छ ?

स्पष्ट रुपमा भन्नुपर्दा राप्रपा फरक धारको पार्टी हो । संवैधानिक राजसंस्था र हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यदि जनमत संग्रह गर्ने हो भने यहि एजेण्डामा बहुमत आउने पक्का छ । एकातिर यस्तो अवस्था छ भने अर्को तिर राप्रपाको सङ्गठन विगत भन्दा हजार गुणा बढ्दै पनि गएको छ । कसैले राप्रपालाई होच्याउन सङ्गठन छैन भने पनि हाम्रो पार्टीको सङ्गठन दिनदिनै बढ्दै गएको छ । जनताले यस पटक यमबहादुरलाई जिताउछु भनेको अवस्था छ । तनहुँमा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी स्पष्ट एजेण्डामा मत मागिरहेका छौं ।

जनताले राप्रपालाई नै किन जिताउने ?

राप्रपा राष्ट्रवादीहरुले भरिएको पार्टी हो । पहिलो कुरा राप्रपा जन्मजात इमान्दार र भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले स्पष्ट वहुमत ल्याउनु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ ।  यहि आदर्शका कारण हाम्रो मत बढेको हो । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै छन् । यस पटकका निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौं । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । यो निर्वाचनलाई हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनको रुपमा लिइरहेका छौं । संसदबाटै हिन्दु राज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?

धेरै राम्रो हुनेछ , सानदार हुनेछ । जनताले राप्रपालाई निर्णय गर्ने ठाउँमा पु¥याउँदै हुनुहुन्छ । हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । ‘हलो’ प्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छ । अब हामीले अहिले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला त ?

अवस्था आउछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं ।  हाम्रो पहिलो भरोसा हिन्दु नै हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ सहयोग र माया चाहिएको छ । यो निर्वाचनमा हिन्दु धर्म र राजसंस्था मान्नेले शक्ति प्रदर्शन गर्नु पर्छ । हिन्दु भन्ने हिन्दुलाई मत नदिने पनि हुन्छ । पक्का छ हिन्दुहरुको सबै मत राप्रपालाई आउछ, मलाई आउछ ।

अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?

यस पटक विकासवादीलाई रोजिदिनु होला । हिन्दुवादीलाई रोजिदिनु होला । राजावादीलाई रोजिदिनु होला । तनहुँ क्षेत्र नं. २ बाट  पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई अरु पार्टीको झण्डा हेरेर होइन मन मित्रको मत दिनु होला । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ सहयोग गरिदिनु होला । यो राम्रो अवसर हो, अवसर छ, राप्रपालाई जिताउनु होला ।

(ठकुरी राप्रपाबाट तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।)

 

 

 

Facebook Comments Box