वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने चार पक्राउ

उपभोक्ता समाचार

काठमाडौँ, ९ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट नगरपालिका–१३ घर भई हाल काठमाडौँ टोखा–४ बस्ने ३८ वर्षीय आदर्श केसी, ललितपुर गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिम आठबिसकोट–७ घर भई भक्तपुर जगाती बस्ने ३८ वर्षीय ईन्द्रकुमार रोकाय तथा काभ्रेपलाञ्चोक चौरीदेवराली गाउँपालिका–६ बस्ने ३२ वर्षीया तारा गिरी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरकुमार भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरुले दिएको उजुरीका आधारमा उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।”

पक्राउ परेकामध्ये केसीले तीन जनालाई अमेरिका पठाउने भन्दै रु ९२ लाख, पुरीले माल्टा पठाउने भन्दै दुई जनाबाट रु चार लाख, रोकायाले फ्रान्स पठाउने भन्दै एक जनाबाट रु आठ लाख तथा गिरीले माल्टा पठाउने भन्दै दुई जनाबाट रु १२ लाख आठ हजार लिएको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । उनीहरु चारै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

Facebook Comments Box