राजनीतिको मूल मर्म भनेको यथास्थितिमा परिवर्त, रुपान्तर र पुस्तान्तरण नै हो । नेतृत्व विकास र यथास्थितिमा रणनीतिक र कुटनीतिक फेरबदलको उद्देश्य नभएको नीति, समायानुकुल शिक्षा र स्वास्थ्यको सुलभ पहुँच, औद्योगिकरण र आधुनिक कृषि जस्ता महत्वपूर्ण विषयमा परिवर्तनकारी र नीतिगत परिमार्जनको चरणवद्ध अवस्था नै हाम्रो जस्तो विकाशोन्मुख मुलुकको राजनीतिको उद्देश्य हुनुपर्छ । तर नेपालको सन्दर्भमा यथास्थिति र यथापुरुषहरुको वर्चश्वको श्रृंखलाबद्ध उपस्थितिले कहिल्यै परिवर्तनको दृष्य देख्न र महसुस गर्न पाएको छैन । २००७ साल देखिको राजनैतिक परिवर्तनहरुको श्रृंखलाले विभिन्न व्यवस्थाहरुमा फेरबदल गर्दै आयो । आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम रहेको छ । व्यवस्थापरिवर्तनको यो प्रक्रियामा व्यवहारिक रुपमा व्यवस्थले अवस्था परिवर्तन नगरेर यथास्थितिकै बोध जनतालाई गराइरहेको छ ।
नेपालमा आम निर्वाचन सकिएपछि राजनीतिक दलहरु यतिबेला दलको नेता चयन र सरकार गठनको प्रक्रियामा रहेका छन् । देशकै ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सम्मन्न संसदीय दलको निर्वाचनमा कांग्रेस सभापति भारी मतले संसदीय दलको नेतामा निर्वाचित भए । कांग्रेस महामन्त्री समेत रहेका नेता गगन थापा पराजित भए । थापाले नीति र नेतृत्व परिवर्तनको मुद्दालाई उठाएपनि जीत आखिरमा यथास्थितिकै हुनपुग्यो । शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रमा विराजमान छन् अब उनको छेठौं पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । एउटै व्यक्ति पटक पटक देशको प्रधानमन्त्री र पार्टी सभापति समेत बदलिन नसक्ने नियति यतिबेलाको सत्यता हो । नेपाली कांग्रेसमा नीति र नेतृत्व पुस्तान्तरणको आवाज सवत्र उठिरहेको छ । १४ औं महाधिवेशनमा पनि पुस्तान्तरणको मुद्दा जोडतोडले उठ्यो । त्यसबेला पूर्ण सार्थक हुन नसके पनि युवा र परिवर्तनको पक्षमा केही आशालाग्दो अवस्था देखियो । गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदिप पौडेल जस्ता युवा नेताहरु महामन्त्री र उपसभापतिको पदमा निर्वाचित भएका थिए । मंसीर ४ मा सम्पन्न निर्वाचनबाट पनि चौतर्फी रुपमा देशभरको भावना पार्टी जुनसुकै होस तर नेतृत्व नयाँ र युवाको हातमा होस भन्ने थियो । तर संसदीय दलको निर्वाचन अभ्यासले कांग्रेसमा पुस्तान्तरणको विषयलाई अल्पविराम लगाइदिएको छ ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । परिणाम जनभावना अनुसार नभएपनि लोकतान्त्रिक विधि र पद्दतिबाट संसदीय दलको निर्वाचन परिणामसम्म पुग्नु सकारात्मक नै मान्नु पर्दछ । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको लागि जति अन्तरसंघर्ष देखिन्छ त्यही अनुसार अन्य राजनीतिक दलहरुमा प्रतिरोध र विरोधको कुने सम्भावना सम्म देख्न पाईदैन । संसदीय दलकै प्रक्रियालाई हेर्दा नेकपा एमालेले सर्वसम्मतिका साथ केपीशर्मा ओलाीलाई संसदीय दलको नेता चयन गरेको छ । एमाले देशकै दोस्रो ठूलो दल हो । पार्टीगत रुपमा पनि केपी ओली नै एमालेमा सर्वेसर्वा हुन् । नेकपा माओवादी केन्द्रमा पनि दलको नेतामा अध्यक्ष पुष्पकमल दालनै छानिनेछन् । तराई केन्द्रीत पार्टीहरुमा पनि यही र यस्तै परिणामहरु देख्न पाइन्छ । समग्रमा सवै राजनीतिक दलमा अहिले पनि वयोवृद्ध नेतृत्वकै वर्चश्व कायम रहँदै आएको छ । महाधिवेशन, निर्वाचन वा संसदीय प्रक्रिया र सरकार गठनकै विषय किन नहोस् हरेक अवस्थामा यिनै जेष्ठ नेतृत्वको बोलवाला कहिले पनि परिवर्तन भएको पाईंदैन । नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको वहस नै घनिभूति रुपमा चल्न सकेको छैन । गुट, फुट र सत्ताको मोहका कारण युवा पुस्तासमेत एउटा सानो समुहमा रमाउने परिपाटीले नेतृत्वको विकल्प खोज्ने विषयलाई थाति राख्दै आएको देखिन्छ । पटक पटक एउटै व्यक्ति सत्ता र पार्टी प्रमुखमा देखिइरहनु यथास्थितिको पराकाष्ठा हो । नेतृत्व र पुस्तान्तरणको विषय कुनै पनि राजनीतिक दलमा खास विषय बन्न सकेकै छैन । नेतृत्व रुपान्तरणको सन्देश कांग्रेसमा युवापुस्ताले दिन खोजेपनि त्यो सफल बन्न सकेको देखिंदैन । अन्य राजनीतिक दलमा त दलमा फुट आउँछ तर रुपान्तरणको कुरा भएको सुनिंदैन । आजिवन श्रृंखलावद्ध एउटै महापुरुषहरको वश्र्चश्वले नेपाली राजनीतिमा नेतृत्व पुस्तान्तरणको विषयले कहिले सार्थक पाउला भन्ने प्रश्न यतिबेला समग्र जनताले गरिरहेका छन् ?