क्रिप्टो कारोबार हुने वेबसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेबसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

नेपालको मौजुदा कानुनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेबसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेपछि फेरि निर्देशन दिनु परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यस्ता वेबसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकहरूलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

‘अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर, उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो,’ पौडेलले भने ।

 

यो निर्देशन पालना नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका विषयसँग सम्बन्धित वेबसाइट र एप्लिकेसन सञ्चालनमा रोक लगाउन भनेको छ । त्यस्तो वेबसाइट, एप्लिकेसन वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । यसअघि सरकारले अश्लील साइटहरू पनि बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *