व्यापार घाटा ११ खर्ब

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९÷८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकनुसार मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । विभागले अपेक्षाकृत रूपमा व्यापार घाटा घटाउन नसकेको स्विकारेको छ ।

चालू आवको बितेका नौ महिनाको अवधिमा देशको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख ५३ हजार रुपैयाँबराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८९ प्रतिशतले न्यून हो । यस अवधिमा आयातसँगै निर्यातमा पनि कमी आएको तथ्यांकले देखाएको छ । नौ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले कमी हो ।

यस अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँबराबरको निर्यात भएको जनाएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको थियो । निर्यात पनि २६ दशमलव ३४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भन्सार राजस्व भने केही बढ्न थालेको देखिएको छ । विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध हटेसँगै एक महिनामै ३३ अर्ब ३२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजस्वमा सुधार हुन थालेको हो ।

चैत महिनामा मात्र ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सार विभागले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेकामा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

भन्सार विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काले भन्सार राजस्व संकलनमा सुधार भएको बताए । ‘विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजस्वमा देखिन थालेको छ, बिस्तारै राजस्व संकलन बढ्ने अनुमान छ,’ खड्काले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *