विभिन्न देशमा समस्यामा परेका नेपालीलाई उद्दार गर्ने सरकारको निर्णय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीलाई उद्दार गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीको उद्दार गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा दिउँसो बसेको समितिको बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि बनाइएको कार्ययोजना पारित गरेको छ । १० दिनभित्र विवरण संकलन गरेर सूची बनाइने र त्यस लगत्तै उनीहरुलाई फर्काइने एक मन्त्रीले जानकारी दिए ।

भारतबाहेक तेस्रो मुलकका समस्यामा परेका नेपालीलाई उद्दार गर्ने सरकारको तयारी छ । विवरण परराष्ट्र मन्त्रालयले संकलन गर्नेछ । थप तयारीका लागि कार्ययोजनामा परिवर्तन गर्न आवश्यक भएकाले मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मेवारी दिइएको छ ।

विभिन्न मुलुकमा समस्यामा परेका २५ हजार नेपालीलाई पहिलो चरणमा उद्दारको प्रस्ताव गरिएको छ ।

क्वारेन्टाइनमा होटलमा बसाल्ने र सम्बन्धित व्यक्तिले नै रकम तिर्नेलगायतका विभिन्न विकल्पमा छलफल भएको छ ।

नेपालमा रहेका सबै कम्पनीका जहाजले नेपाली नागरिकको उद्दार गर्नेगरी कार्यविधि बनाइएको छ । सबै जहाजको प्रयोग गर्दा दैनिक ३ हजार ५ सय नेपाली ल्याउन सकिने अनुमान गरिएको छ ।

नेपाल आउन चाहनेले आफैले जहाजको भाडा दिनुपर्नेछ भने नेपाल आइसकेपछि आफूले छानेको होटलको खर्च पनि बुझाउनु पर्नेछ । त्यसका लागि सरकारले भाडादर तय गर्नेछ ।

१४ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गर्ने र त्यसपछि मात्रै सम्बन्धित व्यक्तिको ठेगानामा पठाउने व्यवस्था मिलाइएको ती मन्त्रीले जानकारी दिएका छन् ।

समितिले निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नै ब्रिफिङ गरिनेछ ।

Facebook Comments Box