रामेछापका १८ जनामा कोरोना संक्रमण पुष्टि, गोकुलगंगा गा.पा.का ११ र लिखुतामाकोशी गा.पा.का ६ जना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : रामेछाप जिल्लाका १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जना र जुम्लामा कार्यरत एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार उनीहरु भारत र जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका हुन्। रामेछापबाट पछिल्लो समय पठाइएका ७० जनामध्ये ४० जनाको रिपोर्ट आएको कर्णले बताए। उनले भने, ‘७० जनामध्ये १७ जनाको पोजिटिभ, २३ जनाको नेगेटिभ आएको छ। अझै ३० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।’

संक्रमित सबैलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। उनीहरु १७ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्। जिल्लामा शुक्रबार दिउँसोसम्ममा क्वारेन्टाइन र होम क्वारेन्टाइन गरी कूल २०२ जना बसिरहेका छन्। स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका १४५ जना क्वारेन्टाइन र ५७ जना होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए।

मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लामा कार्यरत रामेछापका एक २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई जना उपचारपश्चात घर फर्किए

रामेछाप जिल्ला स्थायी बसोबास भइ काठमाडौं उपत्यकामा रहँदै आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। खाँडादेवी गाउँपालिका – १ राकाथुमका २३ वर्षीय युवकलाई कोरोना पोजिटिभ देखिएको हो। काठमाडौंको एक होटलमा काम गर्ने युवक लकडाउन भएसँगै चैत्र ११ गतेदेखि नै रामेछाप आएर बसेको र राकाथुमबाट वैशाख ३० गते काठमाडौं फर्किएका थिए।

त्यसैगरी रामेछाप स्थायी घर भइ भक्तपुर बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्दै आएका थिए। उनीहरु उपचारपश्चात घर फर्किसकेका छन्।

अत्यावश्यक सेवा खुला गर्ने निर्णय

कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना भएको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) को बिहीबार बसेको बैठकले रामेछाप अत्यावश्यक खाद्यान्न, दुध, फलफूल, तरकारी, ग्यास डिपोहरु बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म खुल्ला गर्ने  निर्णय गरेको छ। व्युटीपार्लर, सैलुङ्ग, होटल बाहेक अन्य पसलहरु (कपडा, स्टेशनरी, पुस्तक पसल, इलोक्ट्रोनिक्स पसल) हाललाई भइरहेको स्टकबाटै बिक्री वितरण गर्ने गरी शुक्रबारबाट खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

जिल्लामा अवस्थित बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको नीति समेतलाई ध्यान दिई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय भएको छ। बैठकले लकडाउनको अवधिमा कृषि तथा पशुजन्य वस्तु मुख्य बजारसम्मको ढुवानीमा सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य संघले समन्वय गरी सहज रुपमा विक्री वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ।

रामेछापमा विदेशबाट आउने नागरिकहरुको होटल र गेष्ट हाउसमा राख्‍ने तयारीसमेत भएको छ। बैठकले रामेछापमा आएर आफ्नै खर्चमा होटल बस्न चाहने नागरिकलाई राख्‍न सम्भावित होटल, गेष्ट हाउसको सूची र बेड संख्या एकिन गरेर न्यूनतम शुल्कसमेतको विवरण तयार गर्ने निर्णय गरेको छ। यसका लागि क्वावारेन्टाइन बनाउन चाहने होटल व्यवसायीसँग बेड संख्या र दररेट माग गरिनेछ। तर सम्बन्धित पालिकामा गएर क्वारेन्टाइनमा बस्‍ने नागरिकले भने शुल्क तिर्नपर्ने छैन। अन्नपूर्ण

Facebook Comments Box