खोज : मलाई मेरै देश भित्र फेरी एउटा जंगे खोज्नु छ

खवर पाटी (खोज खबरको अभियान)

खोज

गर्लम्म लड्यो, धुलाम्य भयो

सबै त लडी सकेको थियो

बाँकी एउटा टहरो थ्यो

माटोको

त्यो पनि आज ढल्यो |

विश्वास, आशा, सपनाको

धरहरा त उहिल्यै

ढलीसकेको थियो

७ साल, १७ साल, ३६ साल, ४६

साल रअनगिन्ति सालहरु

ढलेकै त थिए

प्रजातन्त्र, लोकतन्त्र,

गणतन्त्रको नाममा हाम्रा

सपनाहरु

पालै पालो ढलेको ढल्यै

लडेको लड्यै गर्छन |

सोच्छु,

यदी कहिल्यै नलड्ने,

कहिल्यै नढल्ने भए हाम्रा

आशाहरु !

अनि, कहिल्यै नटुट्ने,

कहिल्यै नफुट्ने भए हाम्रा

वादहरू !

यो ढुंगे टहरो त आज ढले

भोलि उठाउने थिएँ

आज खुइलिए भोलि पोत्ने

थिएँ |

आशै आशमा बाजे बराज्यू

ढले

अनि म नढलुन्जेलसम्म त

यो टहरो उठ्ला पोतिएला

रंगिएला

तर,

के म ढलेको सपना र आशा

ठड्याउन सक्छु ?

दुधको साँची बिरालो राखेर

के म यो देशको न्वारन

गर्नसक्छु ?

अँह,

मलाई टहरो होइन देश

ठड्याउनु छ |

मलाई झुप्रो हैन देश पोत्नुछ |

त्यसैले,

७ सालदेखि थुतुनो

फेर्दैबसेका हाईनाहरुको

साम्राज्य ढलाएर

एउटा बलियो सिंह रोज्नु छ|

हजार स्याल पाल्नु भन्दा

एउटै बाघ बेश

हो !!!

मलाई मेरै देश भित्र फेरी

एउटा जंगे खोज्नु छ|

  • डा. विष्णु प्रसाद सुबेदी / धरान
Facebook Comments Box