मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, साउन ४ । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।
सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई÷तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन । ”
सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासङ्घले जनाएको छ ।
मौद्रिक नीतिको कार्यविधि कस्तो आउँछ भनेर व्यवसायीले पर्खिएका छन् । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “कार्यविधि आउनुप¥यो, यातायात क्षेत्रलाई राम्रै घोषणा भएको छ तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिन्छ, त्यो हेर्न बाँकी छ । ”
सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने भएको छ । छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा सुरु गरिरहेका छन् । ट्याक्सी तथा टेम्पो पनि सञ्चालन भएका छन् ।  गोरखापत्र

Facebook Comments Box