सचिवालय बैठकमा अध्यक्ष ओली र प्रचण्डको एकै लय, विवाद मिल्ने दिशातर्फ गएको स्पष्ट

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शनिवार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि अब नेकपामा देखिएका विवाद मिल्ने दिशातर्फ गएको स्पष्ट भएको छ ।

बैठकको सुरुमै ओलीले आत्मलोचना गरेका थिए । उनले आफूले पनि गल्ती कमी कमजोरी गरेको स्वीकारेका थिए । आफूले पनि सुधार गर्ने र अरुले पनि गल्ती कमजोरी सुधार गर्नुपर्ने बताएको सचिवालय एक सदस्यले बताए ।

ओलीले बैठकमा भने, ‘सबै साथीहरु मिल्नुको विकल्प छैन, पार्टी एकता भंग गर्नु हुँदैन, बरु चाँडो महाधिवेसन गर्ने विषयमा स्थायी कमिटीमा छलफल गरौं, म लचक नै छु,, सबैले आआफ्नो अडान राखेर पनि भएन ।’

ओलीले लामो समय बोलेका थिए । सरकार सञ्चालन, कार्यशैली लगायतका विषयमा बोलेका थिए । गल्ती कमी कमजोरी सच्याउँदै अघि बढ्ने प्रस्ताव ओलीले राखेका थिए ।

विगत बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेका अर्का अध्यक्ष प्रचण्डले आज भने राजीनामाको कुनै विषय नै उठाएनन् । उनले ओलीलाई समर्थन गरे जस्तो गरे ।

प्रचण्डले बैठकमा भने, ‘मिलेर जानुपर्छ, मिल्नुको विकल्प छैन । कम्युनिष्ट पार्टी एक हुनु भनेको ऐतिहासिक आवश्यकता हो । अहिलेसम्म जे–जे भयो, अब अगाडि बढौं । सकारात्मक दिशामा अगाडि जाऔं ।’

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले भने असन्तुष्टि पोखे ।

नेता नेपालले बैठकमा भने, ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न ।’

कम्युनिष्ट पार्टीमा विधि र प्रक्रिया मुख्य कुरा भएको भन्दै अर्का नेता झलनाथ खनालले व्यक्ति मिलेर मात्र केही नहुने बताए ।

नारायणकाजी श्रेष्ठले विधि प्रक्रियामा अगाडि बढ्नुपर्ने भन्दै कम्युनिष्ट पार्टी एकजना नेताले चलाउने होइन भने । उनले बैठकमा भने, ‘सबैको भावना समेटेर अघि बढ्ने हुनुपर्छ, जनवादी केन्द्रीयता हुनुपर्छ । पार्टी विधि प्रक्रिया मान्नुपर्छ, नेतृत्वले नै त्यो साहस किन गर्दैन ?’

उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा कड्किएका थिए । विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने भन्दै गौतमले आपत्ति जनाएका थिए ।

त्यसैगरी, बैठकमा रामबहादुर थापा बादल, इश्वर पोखरेल र विष्णु पौडेलले समन्वयात्मक कुरा राखेका थिए । उनीहरुले पार्टी एकतालाई थप उचाईमा पुर्याउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । उनीहरुले अध्यक्षद्वयको कुरा उचित भएको बताएका थिए ।  नागरिक

Facebook Comments Box