गएराती प्युठानको स्वर्गद्वारी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

खवर पाटी (खोज खबरको अभियान)

प्युठान । गएराती प्युठानको स्वर्गद्वारी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा गएराति अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

उक्त ट्याक्टरमा चालकसहित ८ जना रहेको र एकजना भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनले जानकारी गराए । प्रहरीका अनुसार मृत्यु हुने सबै रोल्पाका बासिन्दा हुन । दुर्घटनामा ज्यान गुमाएका सबै सातै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर, रुन्टिगढि गाउँपालिका–५ का २१ बर्षीय सागर वस्नेत, २४ बर्षीय रीमबहादुर बस्नेत, १९ बर्षीय बीरेन्द्र बाठा मगर, १९ बर्षीय थमन बाठा मगर, उमेर नखुलेका गोर्वधन बुढामगर, २५ बर्षीय कबिराम बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ तर्फ आउँदै गरेको ट्याक्टर गएराती अन्दाजी १ बजे वडा नम्बर ३ को रुमाले भन्ने ठाउँबाट करीब ५ सय मिटर सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

Facebook Comments Box