काठमाडौं ७ मंसिर । नेपालको एकमात्र टेलिफिल्म तथा वेबसिरिज अवार्डको ग्रान्ड फिनालेको तयारी तीव्ररुपमा भइरहेको बक्स अफिस इन्टरनेशनल ग्रुपले बताएको छ । विगतका वर्षमा झैं यो वर्ष पनि टेलिफिल्म अवार्डको अवसरमा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप आयोजनाको बृहत् तयारी सुरु गरिएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा यही मंसिर २८ गते शुक्रबार र २९ गते शनिबार गरी २ दिन टेलिफिल्म नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । फाइनल अगाडि साँझ वेबसिरिजतर्फ २२ विधा र राष्ट्रिय टेलिभिजनमा नियमित प्रशारण हुँदै आएको टिलिफिल्मतर्फ २२ विधामा अवार्ड वितरण गरिने ग्रुपले जनाएको छ । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि हुने ग्रुपले बताएको छ ।
टेलिफिल्म अवार्डको प्रचारप्रसारका लागि विगत लामो समयदेखि अवार्डको पूर्वसन्ध्यामा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप गरिँदै आएको छ । काठमाडौंको बौद्ध महांकालमा सञ्चालित ७ ए साइडको इलाइट फुटसलमा हुने यस प्रतियोगिताका लागि मंसिर २६ गतेसम्म टिम दर्ता खुला गरिएको छ । सबैको सहजताका लागि ९८५१०१८४०१ मा सिधै सम्पर्क गरी टिम दर्ता गर्न सकिने र यो वर्ष टिम दर्ता शुल्कमा भारी छुट दिइएको ग्रुपले जनाएको छ । सहभागी इच्छुक टिमले मंसिर १ देखि १५ गतेसम्म आवेदन दिए ५ हजार ९००, मंसिर १६ गतेदेखि २० गतेसम्म आवेदन दिए ६ हजार ९००, मंसिर २१ गतेदेखि मंसिर २५ गतेसम्म आवेदन दिए ७ हजार ९००, मंसिर २३ र २७ मा अथवा कार्यक्रमको मुखैमा आएर अचानक आवेदन दिए ९ हजार शुल्क तोकिएको पनि आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा कम्तीमा ४३ टिमले सहभागिता जनाउने आयोजकको अपेक्ष छ । एन्फा मान्यता रेफ्रीले लिग चरणका खेल २० मिनेट र फाइनल खेल ३० मिनेट खेलाउने आयोजकको भनाइ छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपरलगायतलाई पनि पुरस्कार पाउने आयोजकले बताएको छ ।
आयोजक बक्स अफिसले फुटबललाई मनोरञ्जन क्षेत्रमा प्रत्यक्षरुपमा जोड्न हरेक २ महिनाको अन्तरमा रामबहादुर गोल्ड कप, टेलिफिल्म फुटबल कप, फिल्म च्याम्पियन फुटबल कप र म्युजिक फुटबल कप गरी वर्षमा ४ वटा फुटबल प्रतियोगिता गर्दै आइरहेको अध्यक्ष आरके सुवेदीले जानकारी दिए । यसआगाडि संस्थाले १८औं विश्व कीर्तिमानी रामबहादुर ‘आरके’ सुवेदी गोल्डकप–२०८१ सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा कुल १० लाखको कारोबार भएको थियो भने प्रतियोगिताको मुनाफा रकमबाट बाढी पोहिरो राहत कोषमा ३५ हजार रुपैयाँ जम्मा गरिएको थियो ।