काठमाडौँ, साउन २२ । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।
बन्दाबन्दी खुलेपश्चात् काठमाडाँैं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाँैंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १७४ रहेको बत(ाउँदै डा. गौतमले पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताउनुभयो । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १५ हजार १५६ पुगेको छ । बुधबार देशभरका क्वारेन्टाइनमा नौ हजार ९२५ जना व्यक्ति छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।
मृतकको सङ्ख्या ६० पुग्यो
यसैबीच पर्साको पोखरीया नगरपालिका–८ का एक १८ वर्र्षीया युवतीको मृत्यु भएको छ । उपचारका लागि वीरगञ्जको नेसनल मेडिकल कलेजमा ल्याउँदा बाटैमा मृत्यु भएकी युवतीमा कोरोना देखिएको हो । यस्तै वीरगञ्जका अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।
प्लाज्मा थेरापी पनि विकल्प
यसैबीच विराट मेडिकल कलेजका प्रमुख डा. ज्ञानेन्द्रमान सिंह कार्की कोरोना भाइरसबाट मुक्त हुनुभएको छ । उहाँलाई बिहीबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । शिक्षण अस्पतालमा गरिएको दुईपटकको पीसीआर परीक्षणमा डा. कार्कीको रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
गत साउन १० गते अस्पतालमा भर्ना गरी छ दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृति लिई प्लाज्मा थेरापी विधिबाट उहाँको थप उपचार भएको थियो । डा. कार्कीले कुरा गर्दै आफूले नयाँ जीवन पाएको जानकारी दिनुभयो । – गोरखापत्र