तालिबानद्धारा अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको ब्यापक खोजी

खवर पाटी (खोज खबरको अभियान)

जोहानेसवर्ग । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ । अफगान ताालिवानले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको खोजी गरेका पाइएको हो ।

संयुक्त राष्ट्रसंघको आतङ्क–आँकलन सल्लाहकारहरूद्वारा प्रदान गरिएको एएफपीले भेटेको प्रतिवेदनले यस समूहले आफूले गिरफ्तार गर्न चाहेका व्यक्तिहरूको ‘प्राथमिकता सूची’ बनाई विदेशी सेनालाई सघाएका अफगान नागरिकको खोजी गरिरहेको बताइएको छ ।

उक्त पत्रअनुसार अधिकांश खतरामा अफगान सैनिक, प्रहरी र गुप्तचर एकाइहरूमा केन्द्रीय भूमिका निर्वाह गर्ने अधिकारीहरू रहेका छन् र तालिबानले आफूले पत्ता लगाउन चाहेका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको खोजी गर्दै ‘लक्षित घर–घरको भ्रमण’ गरिरहेका छन् ।

तालिवानहरूले काबुल विमानस्थलमा जाने बाटोमा व्यक्ति विशेषको पनि जाँच गरिरहेका छन् र राजधानी र जलालाबादलगायत प्रमुख शहरहरूमा जाँचबिन्दुहरू स्थापना गरेका छन् । यस बिषयमा जानकारी दिँदै ‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’द्वारा बुधबार बुझाइएको हो । यो संस्थाले संयुक्त राष्ट्र संघका निकायहरूलाई गोप्य सूचना दिने गर्छ ।

उक्त समूहका कार्यकारी निर्देशक क्रिश्चियन नेलेमनले एएफपीलाई भने, “उनीहरूले आफूलाई आत्मसमर्पण गर्न इन्कार गर्ने परिवारलाई निशाना बनाउँदैछन् र ‘शरिया कानुनअनुसार’ ती परिवारका सदस्यहरूलाई अभियोग र सजाय दिइरहेका छन् ।

“हाम्रो अनुमानमा पहिले नेटो/अमेरिकी सेना र उनीहरूका सहयोगीहरुसँग काम गरिरहेका व्यक्तिका श्रीमान् वा श्रीमती तथा परिवारका सदस्यसमेत उनीहरूको यातना र मृत्युदण्डसमेतको शिकार हुनेछन् ।

“यसले पश्चिमी गुप्तचर सेवाहरू, उनीहरूको सञ्जाल, विधि र आगामी तालिबान, आइएसआइएस र अन्य आतंकवादी खतराहरूको प्रतिरोध गर्ने क्षमतालाई अझ खतरामा पार्नेछ,” उनले थने ।

सूचना व्यक्ति भर्ना
रिपोर्टमा तालिवानले आफ्नो प्रशासनलाई सहयोग गर्न नयाँ सूचनाकर्तालाई ‘द्रूत गतिमा भर्ना’ गरिरहेका छन् र मस्जीद र विदेशी मुद्रा साट्ने प्रतिनिधिहरूसँग सम्पर्क गरेर आफ्नो लक्ष्यको सूची विस्तार गरिरहेका छन् ।

यस संस्थाका अनुसार तालिबानले तत्कालिन अफगान सरकारमा आतङ्कवादविरुद्ध काम गर्ने व्यक्तिलाई अगस्त १६ मा लेखेको पत्र पुनः छापिरहेको छ ।

उक्त पत्रले अफगान नागरिकलाई ‘बेलायती र अमेरिकीहरूसँगको काम र सम्बन्धको प्रकृतिबारे जानकारी प्रदान गर्न’ रिपोर्ट गर्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “यदि तपाईंले विदेशी सेनालाई सहयोग गरेका तालिवानविरोधी व्यक्ति वा संस्थाबारे आयोगमा रिपोर्ट गर्नुभएन भने अनुसन्धानका लागि तपाईंका परिवारका सदस्यहरू पक्राउ पर्न सक्नेछन् यसको तपाईं आफैँ जिम्मेवार हुनुपर्ने छ । तपाईं र तपाईंको परिवारका सदस्यहरूलाई शरिया कानुनको आधारमा व्यवहार गरिने छ ।”

‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’ले पनि तालिबानले आफूहरूको आलोचना गरेमा बाँकी रहेका पश्चिमी वा चिकित्सा कार्यकर्ताहरूलगायत अन्य विदेशी कर्मचारीहरूलाई निसाना वा गिरफ्तार गर्न सक्छ भनेर चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघका प्रवक्ताले उक्त कागजातबारे प्रतिक्रियाका लागि गरिएको अनुरोधमा कुनै जबाफ दिन चाहेनन् ।

संयुक्त राज्य अमेरिका र अन्य विदेशी सैनिक २० वर्षसम्म अफगानिस्तानमा बसी त्यहाँ तालिवान समूहविरूद्ध लडेको थियो । कतारमा अमेरिकी प्रतिनिधि र तालिवान समूहका नेताबीच भएको ‘अफगान शान्तिका लागि सम्झौता’ पछि अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने निर्णय भएको थियो । यसै अनुरूप अफगान भूगोलबाट नेटो सैनिक बहिर्गमनको प्रक्रिया जारी छ । विदेशी सेनाको बहिर्गमन प्रक्रियासँगै तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जा लिने क्रमको अन्त्यमा आइतबार काबुल कब्जामा लिएको थियो । राजधानी कब्जामा लिएपछि तालिवानले जनसम्पर्क अभियानलाई तीब्र पारेको छ ।

तालिबानले महिलाका अधिकारको प्रत्याभूत गर्ने, समावेशी सरकारको निर्माण गर्ने, यस पहिलेको सरकार र पश्चिमी सैनिक गठबन्धनमा काम गर्ने सबैलाई पूर्ण माफी दिने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् तर प्रतिवद्धताविपरित उनीहरूका गतिविधि अघि बढाइएको देखिएको नेलेमनले एएफपीलाई बताए ।

अफगानीहरूले सन् १९९६ देखि सन् २००१ को तालिबानको अति परम्परावादी इस्लामी शासन, जसले व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मार्ने जस्ता क्रुर सजायहरू लागु गरेका थिए, लाई बिर्सेका छैनन् ।

राजधानी काबुलसहित देशका सबै क्षेत्रलाई तालिबानले कब्जा गरेदेखि यता हजारौं मानिसहरूले देश छोडेर भाग्न चाहेका छन् र यसले काबुल विमानस्थल अस्तव्यत बनेको छ ।

Facebook Comments Box