काठमाडौं उपत्यकामा देखिए अहिलेसम्मकै धेरै संक्रमित, भरिन थाले अस्पताल

खवर पाटी (खोज खबरको अभियान)

भरिन थाले कोभिड अस्पताल

-६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, तीन हजार नौ सय १९ अस्पतालबाहिर

-प्रदेश २ मा मात्रै १२ सय नौजना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित

संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् । सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो । प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन् । ६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार नौ सय १९ अस्पतालबाहिर छन् ।

प्रदेश २ मा मात्रै १२ सय नौजना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् । प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा छन् ।

काठमाडौं उपत्यकामा सरकारले तोकेका कोरोना उपचार हुने ६ वटा अस्पताल छन् । तीमध्ये दुईवटामा क्षमताभन्दा बढी संक्रमित पुगिसकेका छन् । एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० बेड क्षमता छ, त्यहाँ शुक्रबारसम्म ४७ संक्रमितको उपचार भइरहेको छ । सय बेड क्षमताको पाटन अस्पतालमा ६९, ६० बेड क्षमताको कीर्तिपुर आयुर्वेदिक अस्पतालमा ५५, ९० बेड क्षमताको काठमाडौं मेडिकल कलेजमा ८१ र आठ बेड क्षमताको धुलिखेल अस्पतालमा ६ संक्रमितको उपचार भइहरको छ ।

सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि क्षमताभन्दा बढी संक्रमित पुगेका छन् । ४० बेड क्षमताको यो अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ । त्यस्तै, २२ बेड क्षमताको मेची अञ्चल अस्पतालमा २२ संक्रमित नै उपचाररत छन् ।

देशभरका कुन अस्पतालमा कति संक्रमितको उपचार भइरहेको भन्ने आधिकारिक तथ्यांक सरकारसँग पनि छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा सबैतिरका अस्पतालमा उपचाररतहरूको तथ्यांक आउन नसकेको बताए ।

काठमाडौं उपत्यकामा देखिए अहिलेसम्मकै धेरै संक्रमित, सरकार भन्छ– डिजास्टरको खतरा छ

पछिल्लो २४ घन्टामा उपत्यकामा हालसम्मकै सर्वाधिक एक सय ६ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा ११ र भक्तपुरमा चार संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर सात हजार नौ सय २६ नमुना परीक्षण गरिएका छन् । त्यसमध्ये चार सय ६४ जनामा संक्रमण देखिएको छ । शुक्रबारसम्म देशभर २२ हजार दुई सय १४ संक्रमित पुगेका छन् । तीमध्ये १५ हजार आठ सय १४ जना निको भएर घर फर्किएका छन् । ६ हजार तीन सय ३० जना आइसोलेसनमा छन् । अहिलेसम्म चार लाख २७ हजार पाँच सय एक नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा दश हजार दुई सय सातजना छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा रहेको बताए । ‘बाहिरका सहरभन्दा उपत्यकामा जोखिम बढेको छ । संक्रमण अहिले युवामा बढी देखिएको छ,’ उनले भने, ‘एक स्टेप अघि बढेर संक्रमण फैलियो भने काठमाडौंमा ठूलो डिजास्टर हुन्छ । उपत्यकामा करिब ४० लाखको बसोवास रहेको अनुमान छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वृद्धवृद्धादेखि दीर्घरोगीको संख्या बाहिरका सहरमा भन्दा उपत्यकामा धेरै छ । त्यसैले संक्रमणको जोखिम पनि धेरै छ । अत्यावश्यक कामविना घरबाहिर ननिस्कन मन्त्रालयले सबैमा अपिल गरेको छ । ‘यदि निस्कनै परे पनि मास्क र सामाजिक दूरीको अनिवार्य पालना गर्नुपर्छ,’ प्रवक्ता गौतमले भने ।

थप पाँचजनाको मृत्यु

संक्रमणबाट शुक्रबार थप पाँचजनाको मृत्यु भएको छ । यससँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पर्साको वीरगन्ज महानगरमा मात्रै तीनजनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वीरगन्ज–११ श्रीपुरका ७९ र ५७ वर्षीय दुईजना र वीरगन्ज–९ माइस्थानका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनीहरूमा मधुमेह, उच्च रक्तचाप तथा श्वासप्रश्वास, खोकीलगायत समस्या थियो ।

त्यस्तै, सिराहाका दुई पुरुषको पनि मृत्यु भएको छ । गोलबजार नगरपालिका–१२ का २५ वर्षीय युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मिर्गौलाको समस्याले उनी नियमित डायलाइसिसमा थिए । त्यस्तै, सर्लाहीकै वसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । स्वाब नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार, प्रदेश २ मा ३०, बागमती प्रदेशमा दश, गण्डकीमा पाँच, प्रदेशमा दश, कर्णालीमा चार र सुदूरपश्चिममा सातजनाको मृत्यु भएको छ ।  – नयाँ पत्रिका

Facebook Comments Box