सूर्यविनायक न.पा-१ का हेवीवेट आकांक्षी प्रदीप कार्की

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

भक्तपुर। सामाजिक एवं राजनीतिक कार्यहरूमा युवाको भूमिका कस्तो हुन्छ? यसको उत्तर सबै युवासित नहुन सक्छ। कारण सबै युवामा रचनात्मक शक्ति हुन्छ नै भन्ने हुँदैन। तर केही युवाले समाजिक र राजनीतिक क्रियाकलापमा आफुलाई यति दरिलोसित प्रस्तुत गर्छन् कि तिनका कारण मरेतुल्य पल्टेको समयले पनि कोल्टो फेरेको देखिन्छ। यस्तै एक युवा हुन्, सूर्यविनायक नगरपालिका वडा न १ का नेकपा एमालेका युवा नेता प्रदीप कार्की ।

आसन्न स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा आफ्नो दावीपत्र पेश गरेका यिनै युवा नेता कार्की अघिल्लो स्थानीय निर्वाचनमा लोकप्रिय मतले नगर सदस्यमा निर्वाचित पनि भएका थिए । यतिखेर स्थानीय राजनीतिको केन्द्रमा प्रखर युवा नेताका रूपमा टड्कारै देखिएका उनी भन्छन्, ‘ पार्टीले जिम्मेवारी दिए म पछि हट्दिन। बरू निर्वाचित भएपछि पार्टीको निर्णय सहि थियो भन्ने कुरालाई म काम र व्यवहारले सावित गर्ने छु र यहाँका स्थानीय जनतालाई भोट हालेकोमा पछुतो हुन दिने छैन।’

गणतन्त्रपछिको पहिलो स्थानीय सरकारको नगर सदस्यमा निर्वाचित भएका नेता कार्कीले आफ्नो पाँच वर्षीय सेवाकालमा निकै अनुभव बटुलेका छन्। उनी भन्छन्, ‘वडाभित्र कहाँ- कहाँ ,के र कस्ता खालका समस्याहरू छन् र त्यसका लागि के गर्नुपर्छ भन्ने विषयमा म जानकार छु। साथै मेरा पार्टी निकटका साथीहरू, गैर राजनीतिक शुभचिन्तकहरू, कुनै समय विभिन्न राजनैतिक पार्टीमा क्रियाशील रहेर हाल निस्क्रिय रहनु भएका शुभेच्छुकहरूबाट समेत निरन्तर हौसला, सल्लाह, सुझाव र प्रोत्साहन पाइरहेको हुँदा मैले पनि वडा अध्यक्षको उम्मेदवारीका लागि दावी गर्नु उपयुक्त ठाने।’ आसन्न स्थानीय निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले तय गरेको मापदण्ड अनुसार पनि आफ्नो योग्यता पुग्ने हुँदा वडा अध्यक्षका लागि आकांक्षी भएको उनले बताए।

पार्टीको घोषित नीति तथा कार्यक्रमलाई सधै आफ्नो प्रमुख उत्तरदायित्व र जिम्मेवारीको रूपमा गम्भीरताका साथ लिएको बताउने नेता कार्कीले पार्टीको नीति र सिद्धान्तप्रतिको आफ्नो वैचारिक प्रतिबद्धता अटल भएको र त्यसबाट अलिकति पनि दायाँ बायाँ नहुने अडान राख्दै उनले भने, ‘निर्वाचित जनप्रतिनिधिको रूपमा मैले पार्टीको नामलाई अझै अग्लाउने काम गरेको छु। त्यसो त मेरो यस वडाका वडाध्यक्ष र अन्य जनप्रतिनिधिप्रतिको योगदान मेरोभन्दा पनि बढी छ म उहाँहरूको आदर र सम्मान गर्छु।’

पहिलो कार्यकालको काम सुरू गर्दाताका स्थानीय निकाय नयाँ व्यवस्था अनुसारको पहिलो थियो। कानुन, अधिकार र अन्य दायित्वकाबारे जनप्रतिनिधिलाई पनि धेरै करा स्पष्ट भैसकेको थिएन। यस्तो अवस्थामा पनि सन्तुलित भएर नअलमलिकन काम गरेको सम्झदै उनले भने ‘नीति र नियमको परिधिमा रहेरै मैले काम गरेको छु।मेरो कामको मूल्यांकन वडाबासीले मात्रै होइन पार्टीले पनि पक्कै गरेकै होला भन्ने लागेको छ।’

पुरातन सोच र पूर्वाग्रही पुस्ताले युवा शक्तिलाई विश्वास नगर्न पनि सक्छ तर चेतनशील समाजले समाजको प्रगति र परिवर्तनको जिम्मा युवाकै काँधमा राखिदिएको हुन्छ।र, राखिदिनु पनि पर्छ। यस वडामा सामान्य न. सको हैसितयमा कार्कीको आफ्नै मिसन र भिजनमा समाजका आधारभूत क्षेत्रहरूमाथि निकै महत्वपूर्ण कामहरू भएको छ। विद्यालय भवन, सडक, खानेपानी, पुल क्रियापुत्री भवन लगायतको पुनर्निर्माण र स्तरोन्नतीमा नेता कार्कीको पहल र योगदान उल्लेखनीय भएको स्थानीय बासिन्दा नै बताउँछन् । एक स्थानीय बुद्धिजीविले चुनावको समय भएकोले आफ्नो नाम नबताईकनै यतिसम्म भने कि ‘प्रदीप कार्कीजस्तो उभारमा आइरहेको युवा नेतालाई पार्टीले पाखा लगाउनै हुँदैन। किनभने गैर पार्टीका मानिसहरूको मन जित्दै पार्टी समर्थकको दायरालाई समेत फराकिलो पारिरहेको व्यक्ति त पार्टीको जीवनकै लागि महत्वपूर्ण हुन्छ नि, होइन र ?’

नेता प्रदीप कार्कीको लोकप्रियतालाई नियालिरहेका अर्का एक स्थानीय नेताले पनि नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने ‘हिजोको दिनमा एउटै पार्टीमा रहेर आज परिस्थितिबस् अलग्गै बाटो रोजेकाहरू मात्रै नभएर अन्य विचारधारासित आवद्दलाई समेत नेता कार्कीका समर्थकको रूपमा पाइरहेको छु। यो पार्टी संगठनको लागि गौरवको कुरा हो यस अर्थमा कार्की हेवीवेट आकांक्षी उम्मेदवार हुन्।’ यता नेता कार्की भने गैरराजनीतिक चरित्र भएका, समाजका प्रतिष्ठित गन्यमान्ने व्यक्तिहरूबाट पाएको अत्यन्तै सकारात्मक एवं उत्साहजनक साथ र समर्थनले आफु पटक्कै नमात्तिने बरू यस्ता विषय र सन्दर्भहरूलाई प्रेरणाको रूपमा लिएर आउँदो निर्वाचनको समयमा उर्जा एवं शक्तिको रूपमा प्रयोग गर्ने बताउँछन्।

वडावासीमा कुनै समस्या आउँदा दौडिहाल्ने, विवाद व्यवस्थापनमा पनि सक्रिय भएर लाग्ने नेता प्रदीप कार्कीले कोभिडको समयमा पनि उतिक्कै खटिएका थियो। खोपको व्यवस्थापन र सञ्चालनमा पनि उनी निकै लागि परे । भन्छन्, ‘यस वडाको सर्वाङ्गीण विकास र प्रगतिमा मेरो वडाका सम्पूर्ण जनप्रतिनिधि तथा स्थानीवासीको भूमिका महत्वपूर्ण छ । उहाँहरूको व्यवस्थापनमा सहयोग र साथमात्र दिएको हुँ। अब चाहिँ वडा अध्यक्षको प्रमुख भुमिका मै रहेर जनताको सेवा गर्न चाहन्छु।’

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *