नीति तथा कार्यक्रमले प्राथमिकता तय गर्न नसकेको कांग्रेसको ठहर

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी कांग्रेसले आत्मप्रशंसाको पुलिन्दाको संज्ञा दिएको छ। राष्ट्रपतिले झन्डै तीन घण्टा लगाएर प्रस्तुत गरेको नीति तथा कार्यक्रमले प्राथमिकता तय गर्न नसकेको ठहर कांग्रेसको छ।

कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नीति तथा कार्यक्रमको चरित्र नभेटिएको बताए। ‘नीति तथा कार्यक्रम जस्तो हुनुपर्ने हो, त्यस्तो छैन। सरकारको आगामी वर्षका मुख्य प्राथमिकताका विषय समेटिन्छन् नीति तथा कार्यक्रममा,’ उनले भने, ‘तर यहाँ मन्त्रालयका नियमित कामको फेहरिस्त राखिएका छन्।’ उनले नीति तथा कार्यक्रम आत्मप्रशंसाले भरिएको दस्ताबेज भएको टिप्पणी गरे। ‘भएभरका सम्भव हुने नहुने सबै कार्यक्रमका साथै विगतमा जस्तै सपना छर्ने काम भएको छ,’ पूर्वअर्थमन्त्री महतले कटाक्ष गर्दै भने, ‘यो त छोटो हुनुपर्छ, पढ्न नै पौन तीन घण्टा समय लाग्ने यो नीति तथा कार्यक्रम अनौठो र अस्वाभाविक प्रकारको छ।’

सरकार अहिलेको गम्भीर चुनौतीप्रति संवेदनशील नरहेको संकेत नीति तथा कार्यक्रमले प्रस्ट पारेको कांग्रेसको निष्कर्ष छ। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शब्दमा कहीँकहीँ उल्लेख भए पनि व्यवहारमा त्यो ‘स्पिरिट’ देखिँदैन, विगतको जस्तै बजेट ल्याउने आशय देखिन्छ,’ उनले भने, ‘अहिले हामीले भोगिरहेको स्वास्थ्य संकट र अर्थतन्त्रको जोखिमलाई सम्बोधन गरेको पाइएन।’ अर्थतन्त्रको उच्चवृद्धिदर दाबी गरिए पनि अहिलेको प्राथमिकता अर्थतन्त्र जोगाउने र रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

कोरोना भाइरसका कारण विश्वव्यापी मानवीय संकटका साथै अर्थतन्त्रमा गम्भीर समस्या आइपर्दासमेत सरकारले यसतर्फ कुनै ध्यान नदिएको कांग्रेस संसदीय दलमा अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी पाएका नेता डा. मीनेन्द्र रिजालको पनि दाबी छ। ‘यो संकटसँग जुध्न सक्ने गरी सरकारले जुन तयारी अपनाउनुपर्ने हो, त्यो गम्भीरता सरकारमा देखिँदैन। अर्थतन्त्रलाई जोगाउने र मुलुकलाई असफल हुन नदिनेतर्फ सरकारको प्राथमिकता देखिएन,’ उनले भने, ‘अहिलेको संकटलाई सम्बोधन गर्न सक्ने गरी सुस्पष्ट दस्ताबेज आउनुपर्ने थियो। अघिल्लो वर्ष २६ पेजको थियो। अहिले ६३ पेजको आएको छ। यसको अर्थ उहाँहरूलाई प्राथमिकता थाहा छैन।’ उनले राष्ट्रिय सहमतिका आधारमा नीति तथा कार्यक्रम तय गर्नुपर्ने खाँचो औंल्याए।

कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले पनि अहिलेको संकटलाई नजरअन्दाज गरेर सरकारले सामान्य अवस्थाकै जस्तो नीति तथा कार्यक्रम ल्याएको बताए। ‘अनावश्यक खर्च कटौतीको कुरा कहीँ उल्लेख छैन। सांसद विकास कोषको रकम कटाउने, आवश्यकताभन्दा बढी संख्यामा रहेका आयोग र समिति समायोजनदेखि मन्त्रालय र कर्मचारी कटौतीको कुरा उल्लेख छैन,’ उनले भने, ‘आन्तरिक ऋण र वैदेशिक ऋण लिएर मुलुक चलाउने र अर्थतन्त्र जतातर्फ गए पनि जाओस् भन्ने मनसाय सरकारमा देखिन्छ। यो दुर्भाग्य हो।’

अहिलेको नीति तथा कार्यक्रमले कोरोना संकटबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने भन्नेमा बढी केन्द्रित हुनुपर्नेमा विगतकै निरन्तरता भएको उनको दाबी छ। त्यतातर्फ चासो नदिएको उनको भनाइ छ। ‘अघिल्ला दुई वर्षकै नीति तथा कार्यक्रमको कम्पाइल हो यो,’ उनले थपे, ‘दुई ठाउँमा कोभिड १९ शब्द उल्लेख छ तर यसले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा पारेको असरको सम्बोधन गर्नेबारे कहीँ उल्लेख छैन।’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले नीति तथा कार्यक्रमलाई बहुवर्षीय योजनाको संज्ञा दिए। ‘अत्यन्तै महŒवाकांक्षी कार्यक्रम आएको छ यो अवास्तविक र विगतमा असफल भइसकेका कार्यक्रम समेटिएका छन्,’ उनले थपे, ‘एक वर्षीय नभएर बहुवर्षीय कार्यक्रमजस्तो देखिन्छ।’ उनले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिए पनि कार्यान्वयनमा भने शंका व्यक्त गरे। – अन्नपूर्ण

Facebook Comments Box