काठमाडौँ– साताको पहिलो कारोबारको दिन सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। आइतवार बजार परिसूचक अंक १०.२७ अंकले बढेको हो ।
गत साता निरन्तर ४ दिन घटेर २११३.५५ मा झरेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१२३.८२ अंकमा उक्लिएको छ। आज बजार परिसूचक ०.४९ अंकले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.७६ को सामान्य अंकले बढेर ४०९.५६ मा उक्लिएको छ।
यस्तै उप-समूहतर्फ कारोबारमा जीवन बीमा समूह घटेको छ भने बाँकी १२ समूहको सेयर मूल्य सामान्य बढेको छ। बढ्दो बजारका बीच आज कारोबार भएका ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ। बजार १० अंकले बढेपनि आइतवार कारोबार रकममा भने कमी आएको छ ।
गत साताको पहिलो कारोबारमा ४ अर्बमाथि कारोबार भएको बजारमा आज भने २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर ४४ हजार २४० पटकमा किनबेच भएको छ। आइतवार मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।