आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो ।

‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ वर्षीया किशोरीले मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहरा ‘लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरेको,’ बताउँछन् ।

‘हाम्रो टोलीले लामिछानेमाथि परेको जाहेरी’bout अनुसन्धान थालिसकेको छ, उनी बसेको भनिएको नगरकोट र काठमाडौंका होटलको सीसीटीभी फुटेज संकलन लिएका छौं, अन्य आवश्यक प्रमाण खोजी भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख बोहोराले भने ।

प्रहरीले सीसीटीभी फुटेज संकलन क्रममा काठमाडौं र नगरकोटका होटल सञ्चालकसँग सोधपुछसमेत गर्दै होटल दर्ताको प्रमाण पनि मागेको छ । स्रोतका अनुसार दुवै ठाउँका होटल पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ ।

गत ५ भदौ राति पिंगलास्थानस्थित होटलमा ३०५ नम्बरको कोठामा बसेको र बिहान त्यहाँबाट निस्किएको फुटेजमा देखिएको छ । होटल काठमाडौं इनमा लामिछाने ती युवतीसहित राति ११ बजेर ५५ मिनेट जाँदा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘उनीहरू राति सिनामंगलको होटलमा पसेको र बिहान सँगै निस्किएको फुटेजमा देखिन्छ,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । बलात्कार आरोप लागेका लामिछाने हाल क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैकामा छन् । केन्यामा पाँचवटा ‘टी–२०’ खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको आरोप’bout लामिछाने मौन छन् ।

लामिछानेले केन्या जानु अघिल्लो दिन ‘आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर दुईपटक बलात्कार गरेको’ किशोरीको आरोप छ । लामिछानेले मादकपदार्थसमेत सेवन गरेको पीडितको भनाइ छ ।

उनीहरूबीच सामाजिक सञ्जाल ‘स्न्यापच्याट’ र ‘ह्वाट्स एप’मार्फत कुराकानी हुने गरेको पीडितको दाबी छ । ‘स्न्यापच्याट’मा संवाद पठाएको हेर्नेबित्तिकै स्वतः डिलिट हुनेगर्छ ।

आरोप पुष्टि भए १० देखि १२ वर्ष कैद
राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेमाथि लागेको आरोप पुष्टि भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ । कानुनअनुसार मुलुकी अपराधसंहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसुरको उपदफा (३) (घ)मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।

त्यस्तै, उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि ‘करणी’ मानिने उल्लेख छ । पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा ‘आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुईपटक बलात्कार गरेको’ भनेकी छन् । ‘त्यसअघि लामिछानेले आफूलाई नगरकोट लगेको’ पनि उनले प्रहरीसमक्ष बताएकी छन् ।

प्रहरी अधिकारीका अनुसार पीडित ‘नाबालिग’ भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २५५ मा उल्लेखित ‘बालयौन दुरुपयोग गर्न नहुने’ कसुरसमेत आकर्षित हुन सक्ने सम्भावना रहन्छ ।

सो उपदफामा ‘कसैले करणी आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने उल्लेख छ । लामिछानेविरुद्ध बालयौन दुरुपयोगको कसुर लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्छ ।राजधानीमा प्रकाशित

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *