अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो ।  यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ छ पैसा तय गरिएको छ ।

त्यस्तै युरोको खरिद मूल्य एक सय २७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य एक सय २८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिएको छ । विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डलर बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

जसले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले लिएकाे विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *