काठमाडौँ- जवाफदेहीता निगरानी समितिले गत असोज २६ गते राति युक्रेनका चार भुभाग रुसमा विलय गराउन गरिएको भनिएको जनमत संग्रहको विपक्ष तथा अखण्ड युक्रेनको पक्षमा संयुक्त राष्ट्र संघको ११औं आपतकालीन विशेष साधारण सभामा नेपालले गरेको मतदानको स्वागत गरेको छ।
समितिले राष्ट्रसंघको बडापत्र बमोजिम कुनैपनि राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा आक्रमकता विरुद्धको सिद्धान्तलाई अक्षुण राख्ने प्रस्ताबका पक्षमा मत जाहेर गर्नु प्रत्येक शान्तिप्रिय सदस्य राष्ट्रको कर्तव्य रहेको उल्लेख गर्दै युक्रेन तथा त्यहाँका नागरिकका पक्षमा नेपाल लगायत १४३ राष्ट्रले आफ्नो मत जाहेर गरेर शक्तिराष्ट्रको कुत्सित राजनीतिलाई दुरुत्साहित गरेको जिकिर विज्ञप्तिमार्फत गरेको छ। ‘युक्रेनी जनताको सार्वभौमसत्ता तथा मानव अधिकारका पक्षमा विश्व समुदाय उभिएको छ । यस सिद्धान्तलाई आत्मसाथ गरेर नेपालले दिएको साथ र मतदानले नेपाली जनताको मनोभावलाई सम्मान गरेको निगरानी समितिको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
रुस–युक्रेन बिच युद्धको समाप्ति वार्ताका माध्यमद्वारा मात्र हुनसक्छ भन्ने विश्वास व्यक्त गर्दै समितिले विश्व शान्ति तथा युक्रेनी जनताका सुरक्षा, आधारभुत अधिकार र शान्तिपूर्वक बाँच्न पाउने अधिकारका लागि वार्ताद्वारा यस युद्धको समाधान खोजियोस् भनी नेपाल सरकार, राष्ट्रसंघ तथा विश्व समुदाय समक्ष अपिलसमेत गरेको छ।