भारोत्तोलनमा जूनमायाको राष्ट्रिय कीर्तिमान

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

पोखरा – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। मंगलबार पोखरा उद्योग वाणिज्य संघको हलमा भएको स्पर्धामा महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गर्दै स्वर्ण हात पारिन्।

जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाएकी थिइन्। त्यस्तै एपीएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन्। नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गर्दै काश्य हात पारिन्। उनले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन्।

मंगलबार नै भएका अन्य खेलमा महिला ६४ केजीतर्फ नेपाल आर्मीकी शारदा चौधरीले स्वर्ण हात पारिन्। उनले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गरेकी थिइन्।

यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन्। उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन्।

भारोत्तोलनमा मंगलबार कुल ६ स्वर्णको तय हुँदैछ। बुधबारसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०–१० इभेन्टमा खेल हुँदैछन्।

प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन्। नवौंमा भारोत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *