आफ्नो जीवन र समाजमा जे देखिन्छ,त्यसलाई कविताको माध्यमबाट व्यक्त गर्ने कवि हुन रवीन्द्र कार्की। हुन त उनी कथा र लघुकथा पनि लेख्छन् तर पनि कविता अभिव्यक्तिको अत्यन्तै प्रभावकारी र विशिष्ट माध्यम हो भन्ने उनको ठहर छ । बि .स २०३४ मा भक्तपुरको सिरूटारमा जन्मिएका उनी कवितालाई आफ्नो जीवनको प्रमुख अङ्ग मान्छन्, ‘भन्छन् समाज र मानव जीवनका विसङ्गति देखेपछि म भित्रैबाट छटपटिन्छु । जब कवितामा म ती कुरा उतार्छु अनि बल्ल शान्त हुन्छु।’ फुटकररूपमा दर्जनौ कविता,कथा र लघुकथा प्रकाशित भैसकेका रवीन्द्र यतिबेला रोजी-रोटीका लागि साऊदीअरबमा रहेका छन्। उनै कवि रवीन्द्र कार्कीका तीन कविता –
१) सुत्र जिन्दगीको ?
जिन्दगी कसरी चल्छ?
यसलाई कसरी चलाउनु पर्छ ?
यसको कुनै सुत्र हुन्छ भने
कृपया भनिदिनु ल ।
यताउती गर्दागर्दै मेरो त
उमेर र बैँस ढल्यो
म बुढेशकालको बिसौनीबाट
केही कमाउनलाई
खाडीमा जाकिन आइपुगे।
पसिना बगाउँदै छु अझैँ
उज्यालो हुन नपाउँदै
भेडाको बथानमाझैँ गाडीमा कोचिन्छु
कतैकतै देखिन्छन् नाङ्गा पहाडहरू
चर्को घामले तातेको बालुवामा
मेरा पसिनाहरू बर्रर झर्छन्।
बालुको तातोमा बसेर
म नेपालको शीतल हावालाई सम्झन्छु
खादै गर्दा धुलाम्मे खानालाई हेरेर
म आँसु पिएर भोक मेटछु।
अनेकौं देशका थरिथरिका मान्छे छन्
न भाषा बुझिन्छ न भावना
क्रुर र कठोरताले काममा जोतिनु बाहेक
अरू मसित विकल्प छैन ।
मिल्दा जीवनसँगीलाई भीडियो कल गर्छु
यसो फिस्स हासेर
आफ्ना दुखमाथि पर्दा हाल्छु
हो! यहाँ हरपल हर समय
म यसरी नै दिन कटाउँछु ।
२) जीवन एक व्यथा
जिन्दगी के हो?
मान्छेको चोला के हो?
मान्छे भएपछि
के गर्नु पर्छ ? के गर्नु पर्दैन ?
केही बुझिएन
केही थाहापत्तो भएन !
मेरी प्रिय !
तिमी भन्थ्यौ जिन्दगी लामो छ
जवानीमै केही गर्नुपर्छ
अनि,
बुढेसकालमा रमाउनु पर्छ।
ती तिम्रा वाणी सम्झिरहन्छु
हो, आज ठ्याक्कै बिपरित भयो
तिम्रो अर्ती कथा भयो
मेरो जीवन मेरो व्यथा भयो।
३) सन्देश
बलेको सूर्यको ज्वालाले
रापिएको-तापिएको मरुभूमि
सर्र-सर्र चलिरहने तातो हावा
ओहो ! गाह्रो छ जोगिन
न सकिन्छ सास फेर्न
न सकिन्छ बास फेर्न
बस्
निस्सासिएर अर्द्ध बेहोसीमा
पानी बाहिरको माछा झै
छटपटिएर बाच्न बाध्य छौ
हजूर! हामी अझै अरबमा
जिउँदै छौ, जिउँदै छौ!!!