प्रधानमन्त्रीका लागि भारत र चीनको समर्थन जुटाउँदै प्रचण्ड

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री बन्न छिमेकी भारत र चीनको समर्थन जुटाउन लागिपरेका छन्।

चुनावबाट कांग्रेस पहिलो दल बने पनि पालोपालो प्रधानमन्त्रीको पक्षमा रहेका दाहाल पहिलो चरणमै (संसदको पहिलो साढे दुई वर्ष) प्रधानमन्त्री बन्ने कसरतमा लागेका हुन्।

चुनावी परिणाम आउन अन्तिमतिर पुगेको अवस्थामा शक्ति बाँडफाँटबारे ठोस रुपमा छलफल नगरे पनि दलका नेताहरु आन्तरिक र बाह्य रुपमा लागिपरेका छन्। कांग्रेसले ठूलो दलको हैसियतमा आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका बेला दाहाल पनि सक्रिय भएका हुन्।

दिल्लीमा भएको १२ बुँदे सम्झौताका एक मध्यस्तकर्ता भारतीय सुरक्षा परिषदका सल्लाहकार एसडी मुनीले शुक्रबार शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी छाड्न सक्ने आँकलन गर्दै अर्थपूर्ण ट्वीट गरेका छन्।

जवाहरलाल नेहरु विश्व विद्यालयका प्राध्यापकसमेत रहेका नेपाल मामिलाका जानकार मुनीले नेपालमा स्थापित नेतृत्वको विरोध भइरहेको अवस्थामा देउवाले दाबी छाड्न सक्ने बताएका हुन्।

उनले ट्वीटमार्फत भनेका छन्, ‘नेपालमा स्थापित नेतृत्वको विरोध भइरहेको छ। त्यस्तै कांग्रेसभित्र देउवाको नेतृत्वलाई चुनौती थपिँदो छ। त्यसकारण देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन सक्छन्।’

यस्तै दाहालले अर्को शक्तिशाली छिमेकी चीनसँग पनि संवाद गर्न दूत पठाएका छन्। स्वास्थ्य उपचारका लागि शुक्रबार चीन जान लागेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चिनियाँ पक्षसँग भावी सरकार गठनलगायतका राजनीतिक कोर्सबारे पनि छलफल गर्नेछ।

पुनले यसअघि उपचार गरेको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा परीक्षण गराउनेछन्। यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गरेर फर्किएका थिए।

यसपटकको उपचारको क्रममा पनि चिनियाँ नेताहरुसँग राम्रो सम्पर्कमा रहेका पुनले दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कुराकानी गर्ने माओवादी स्रोतको भनाइ छ। चिनियाँ पक्ष कम्युनिष्ट पार्टीहरु एक भएर अघि बढ्नुपर्ने पक्षमा लागिरहेको छ।

मुनीले अप्रत्यक्ष रुपमा दाहाल प्रधानमन्त्री हुन सक्ने दाबी गरे पनि उनले अहिलेको भारतीय संस्थापन पक्षको धारणा बोक्नसक्ने अवस्थामा छैनन्।

केही दिनअघि प्रधानमन्त्री देउवालाई भेट गरेका भारतीय राजदूत नवीन श्रीवस्तावले भने आगामी सरकारका लागि देउवालाई भारतको समर्थन यथावत रहने आश्वासन दिइएको स्रोतको दाबी छ।

यता एमाले नेताहरुले विगतको तिक्तता भुलेर अघि बढ्नुपर्ने प्रस्ताव सार्वजनिक रुपमा माओवादी र समाजवादीलाई गर्न थालेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *