काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सरकारका साझा एजेन्डाबारे छलफल भएको छ। बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रचण्डनिवास खुमलटार पुगेका थिए। दुई नेताबीच सरकारका न्यूनतम साझा एजेन्डाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
तत्कालीन नेकपा टुटेपश्चात दुई वर्षपछि पहिलो पटक खुमलटार पुगेका ओली र दाहालबीच निर्णयक छलफल भने भएको छैन। प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘दुई वर्षपछि दुई नेताबीच भेट भएको छ, उहाँहरुबीच सरकार सञ्चालनबारे छलफलको सुरुवात भएको हो। निर्णय भएको छैन। फेरि छलफल गर्ने गरी आजको छलफल सकिएको छ।’
आजको छलफलमा सरकार सञ्चालन प्रभावकारी ढंगले गर्ने विषयमा छलफल भएको हो। बिहीबार प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेपछि दुई नेताबीच थप छलफल गर्ने तय भएको छ। छलफलमा ओली र प्रचण्डसँगै पार्टीका केही कार्यकर्ता तथा प्रचण्डपुत्री गंगा दाहाल पनि थिइन्।
उनीहरुबीच तत्कालीन नेकपाको बेला भेटघाट निकै बाक्लो भए पनि नेकपा विघटनपछि बोलचाल नै बन्द भएको थियो। प्रधानमन्त्रीका लागि कांग्रेसबाट साथ नपाएका प्रचण्डलाई ओलीले साथ दिएपछि ओली–दाहालको पुनर्मिलन भएको हो।