काठमाडाैँ – निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचनकाे मिति ताेकेकाे छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयाेगले यस्ताे जानकारी दिएकाे हाे ।
आयाेगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको हाे ।
इलामकाे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य श्री पृथ्वी बहादुर सिंहको निधन भएकाे थियाे ।
यसरी कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको हो।