यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो।

त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए।

उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौँमै हुने बताए।

उनले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका कामहरु १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन ११ र १२ गते गर्ने कार्यतालिका बनाएको बताए।

त्यस्तै, आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ। त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ।

उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित पनि सोही दिन हुनेछ। त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ।

उनले आयोग संविधानको स्पिरिटलाई समातेर ५ वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउनका लागि लागेको बताए।  राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदै छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *