मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नेतर्फ मात्रै लागे : धनराज गुरुङ

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – नेपाली काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरू ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए । उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए ।

 

उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नेतर्फ लागिपरेको आरोप लगाए । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए । 

उनले भने, ‘मुलुक भयानक आर्थिक संंकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ । व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ । हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’

सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताए । उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *