एमाले अध्यक्ष केपी ओलीले समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित एक कार्यक्रममा उनले समाजवादी मोर्चाबारे खास वास्ता गर्नु नपर्नेसमेत बताए ।
‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउने रे । त्यसका दुइटा उद्देश्य छन् रे– एउटा एमालेसँग मुकाबिला गर्ने, अर्को कांग्रेसलाई तर्साउने । किन बनाउने समाजवादी मोर्चा ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर त चलेकै छ त । अनि मोर्चा केका लागि ? मोर्चासोर्चा के बनाउँछन् त्यसमा खास वास्ता गर्नुपर्ने छैन,’ उनले भने । चारतिर फर्किएकालाई एकठाउँमा जम्मा गरेर राष्ट्रिय शक्ति नबन्ने उनले जिकिर गरे । ‘चारतिर फर्किएर, फरक–फरक उद्देश्य बोकेका तŒव एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । त्यो एकछिनका लागि हुन सक्छ, एमालेलाई सरकारबाट हटाउने, सरकारबाट बाहिर राख्ने ०८४ सम्म हुन सक्छ,’ उनले भने । ओलीले राष्ट्रिय शक्ति निर्माण गर्न चाहेको पनि बताए । ‘हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देश र जनताप्रति समर्पित छ, विकास, शान्ति, सुशासनप्रति प्रतिबद्ध छ । र, जनताले सुरक्षा पनि पाउन, न्याय पनि पाउन भन्ने चाहन्छ । त्यसका निम्ति काम गर्ने राष्ट्रिय शक्ति हामी निर्माण गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘हामीले अब मिसन ८४ को तयारी गर्नुछ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’
Facebook Comments Box