काठमाडौँ ३ कात्तिक । भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म भएको सो सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालले पनि सहभागिता जनाएको थियो । सम्मेलनमा सहभागी नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएलले नेपालको कला, संस्कृति, भाषा तथा कलाका विविध आयामहरूका बारेमा विश्वभरका डेल्फियनहरूमाझ प्रवर्धन गरेको बताए । सो अवसरमा विश्वभरका कला तथा संस्कृति अभियन्ताहरूलाई नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताको बारेमा पनि विशेष समय लिएर जानकारी गराएका थिए । नेपाल डेल्फिकको तर्फबाट नेपालको कला, संस्कृति, प्रमुख चाडपर्वहरू, प्रचलनहरू तथा संस्कारहरूका बारेमा प्रस्तुतिसहित नेपालको परिचय दिइएको थियो । नेपाल डेल्फिकका अध्यक्ष बिएलले सम्मेलनमा सहभागी सबैलाई नेपालको मौलिक ‘नेपाली ढाका टोपी’ र रुद्राक्ष लगाइदिई यसको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा इन्डियन डेल्फिक काउन्सिलका तर्फबाट नेपाल डेल्फिकलाई सिद्धार्थ गौतम बुद्धको पेन्टिङ प्रदान गरिएको थियो । पेन्टिङ प्रदान गर्दै ज्ञानको खोजीमा पहिले नेपालबाट भारत आएका गौतम अब नेपाल फर्किन लागेको बताइएको थियो ।
Facebook Comments Box