कोरोना महामारीको संक्रमण फैलिन नदिन मुलुक दुई महिनादेखि लकडाउनमा छ । नयाँ शैक्षिकसत्र सुरु हुने र एसईईलगायतका परिक्षा संचालन हुने यो बेला विद्यालय बन्द छन् । कोरोना संकटको अहिलेको स्थितीमा शिक्षण सिकाईका नयाँ विधी र प्रविधिको खोजी भईरहेको छ । यस्तोमा पुरानै शैलीको शिक्षक तालिम कति प्रभावकारी होला भन्ने बहस सुरु भएको छ ।
शिक्षा पत्रकार समूहले बुधवार (७ जेठ, ०७७) मा आयोजना गरेको भर्चुअल अन्तरक्रिया ‘अबको शिक्षक तालिम कस्तो हुने ?’ का सहभागीले बदलिदो चुनौति सामना गर्नसक्ने शिक्षक जनशक्तिका लागि नयाँ तालिमको खाँचो औल्याएका छन् । विगतमा शिक्षकले तालिम केन्द्रमा सिकेको शिक्षण ज्ञान–सीप बाटोसम्म सम्झिने र कक्षा कोठा पुग्दा बिर्सिने स्थिती रहेकोमा प्रभाव कक्षा कोठामै देखिने र नतिजा आउनेगरी तालिम दिनुपर्नेमा जोड दिइयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइमा रुपान्तरण भयो÷भएन भन्नेमै तालिमको औचित्य देखिने बताउनुभयो । उहाँका अनुसार, तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । पहिलो, तालिम लिने शिक्षकले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिमको परिक्षा मूल्याङ्कन । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथो विद्यार्थीको सिकाइमा रुपान्तरण । शिक्षण व्यवहार र विद्यार्थीको सिकाइमा रुपान्तरमाथि प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको महानिर्देशक थपलियाले बताउनुभयो ।
अहिले १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास गराईन्छ । तालिम प्रभाव घट्दै जाँदा ‘तालिम’ शब्दप्रति नै नकारात्मक बुझाई हुन थालेपछि कार्यक्रमलाई शिक्षकको पेशागत विकास (टीपीडी)का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरिएको उल्लेख गर्दै महानिर्देशक थपलियाले भन्नुभयो, ‘एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’
कोरोनाको कहरमा बालविकास कक्षादेखि १२ सम्मका ८२ लाख ५७ हजार विद्यार्थी लकडाउनमा छन् । उनीहरुका झण्डै ३ लाख शिक्षक पनि घरमै छन् । पठनपाठन ठप्प छ । यस्तो बेला खासगरी अनलाइन, रेडियो÷टिभी, एप्स तथा रेकर्डेड माध्यमबाट पठनपाठन गराउनुपर्ने बाध्यता आइसकेको स्थितिमा शिक्षकहरुले प्रविधि नजानेकै कारण कुनै शैक्षिक गतिविधी हुन सकेको छैन । त्यसैले शिक्षक तालिमको पुरानो ढर्रामा सुधारको खाँचो देखिएको हो ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला निःशुल्क तालिमले नै तालिमको महत्व घटाएको बताउनुहुन्छ । तालिम आवश्यकताका आधारमा सशुल्क हुनुपर्ने उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, ‘तालिम किन्ने हो । शिक्षक स्वयंले आफूलाई के कुरा नपुगेको हो, तिनलाई सशुल्क मोड्युलर तालिम दिउँ ।’
कोरोना कहरको यो बेला डाक्टर, प्रहरी अनि पत्रकार काममा खटिने तर, तीन लाख शिक्षक विदा मनाएर चुपचाप घरमा बसिरहन नमिल्ने उहाँको भनाई छ । अनलाइन, रेडियो÷टिभि, एप्स तथा रेकर्डेड माध्यमबाट केगरी पढाउन सकिने हो शिक्षक स्वयंलाई तालिम प्याकेज बनाउन दिनुपर्ने कोइराला बताउनुहुन्छ ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा अनलाइनको पहुँच भएका ठाउँमा शिक्षक सक्रिय रहेको बताउनुभयो । एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न नमिल्ने उल्लेख गर्दै थापाले भन्नुभयो, ‘पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका छैन । तर, शिक्षकको अवस्था पनि बुझ्नुपर्छ ।’ शिक्षक तालिम समय–सान्दर्भिक हुनु पर्नेमा उहाँको जोड थियो ।
अन्तरक्रियामा सहभागी निलबाराही मावि कालीमाटी काठामाडौंकी प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलले नभोकाइकनै शिक्षकलाई तालिम दिइएको बताउनुभयो । उहाँको भनाई थियो, विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्छ । आवश्यकताका आधारमा विद्यालयले नै तालिम चाहिने शिक्षकलाई अवसर दिन्छ ।
शैक्षिक तालिम केन्द्र बागमती प्रदेशका प्रमुख डा. तोयनाथ खनालले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिनुभयो । ‘त्यहीँ पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उहाँको प्रष्टोक्ति थियो ।
नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँदा यसबारे ठोस अध्ययनको तथ्यचाहिँ बाहिर ल्याइएको छैन ।
Facebook Comments Box