सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्छ : भण्डारी

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्ने बताएका छन् । शनिबार बुटवलमा होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरे । ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उनले बताए । अपवादबाहेक अधिकांश नेताहरू देश बनाउन नभई आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ ।

सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायी समस्यामा परेका उनले टिप्पणी गरे । जनप्रतिनिधिलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको उनको भनाइ थियो । उनले न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरूकै प्रभावमा पर्ने गरेको बताए ।

चर्को कर र बैंक ब्याजदरका कारण नेपालको कृषि र अरू व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको धारणा उनले व्यक्त गरे । देश बनाउन अब आउने निर्वाचनमा भ्रष्ट नेताहरूलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्नेमा उनले जोड दिए । नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *