दैलेखको पेट्रोलियम पदार्थ उत्खननको कामको प्रगतीबारे मन्त्री भण्डारीलाई जानकारी

समाचार
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौँ, १० वैशाख ः दैलेखको पञ्चकोसीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष जानकारी गराएको छ ।
दैलेखमा चलिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका परियोजना प्रमुख डा याङ पिङले कामका भइरहेको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराउनुभयो । सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्नेबारे पनि डा पिङले जानकारी गराउनुभयो ।
मन्त्री भण्डारीलाई सो टोलीले सन् २०१९ देखि अहिलेसम्म सबै चरणका कामका बारेमा जानकारी गराउँदै अहिलेसम्मको अवस्था हेर्दा दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको बताउनुभयो । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
सो टोलीमा अन्तिम चरणको ड्रिलिङ गर्नुभन्दा पहिलाको जाँचका लागि चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा मुको नेतृत्वमा विज्ञ समूह पनि सहभागी हुनुहुन्थ्यो ।
सो क्रममा मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको भन्ने जानकारीले सरकारलाई उत्साहित बनाएको बताउनुभयो । साथै उहाँले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *