नेपाल–चीन सम्बन्धमा थापा मिसनको योगदान

विचार
खवर पाटी (खोज खबरको अभियान)
शैलेन्द्रबहादुर थापा

राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको समयमा एशियाली क्षेत्रमा अंग्रेज साम्राज्यवादको विस्तार उत्कर्षमा पुगेको थियो । एशियाली भूमिमा अंग्रेज विस्तारवादको दबदबा बढेको देखेर चीन चिन्तित थियो । चीन (तिब्बत) को दक्षिणपट्टिको गेटवे नेपाल हो । नेपालको बाटो भएर मध्य–हिमालय सीमापार गरी तिब्बतमा व्यापार गर्ने निहुँ बनाइ तिब्बतको जल, जमिनमाथि राजनीतिक नियन्त्रण जमाउने अंग्रेजको चाहना चीनले बुझेको थियो । भीमसेन थापा एशियाली क्षेत्रबाट अंग्रेजको प्रभावलाई कसरी निष्तेज पार्ने भन्ने विषयमा चिन्तित थिए । यस्तो परिस्थितिमा नेपाल–चीन भाइ भाइको सम्बन्ध सुत्रबाट अगाडि बढेको थियो । नेपाल र चीनले पारस्परिक मुलुकी राजनीतिक गतिविधिलाई नजिकबाट नियालीरहेका थिए । यो परिस्थितिमा मध्य–हिमालय सीमापार नेपाल–चीन (भोट तिब्बत) परस्परमा सहकार्य गर्दै, आ–आफ्ना भौगोलिक सीमापार आधुनिक कूटनीतिक–व्यापारिक सम्बन्ध विस्तार गर्दैआएका थिए । भीमसेन थापा पनि आफ्नो राष्ट्रको भूमि, सँधियार राष्ट्रहरुको भूमि र एसियाली माटोमा संचालित गैरएसियाली शक्तिको राजनीतिक गतिविधिलाई निष्तेज पार्ने दाउमा थिए ।

मुख्तियार भीमसेन थापाले तत्कालीन नेपालको उच्चपहाडी तथा हिमालय सीमापार गरी अंग्रेज सरकारका गुप्तचरहरु तिब्बत जान लालायीत हुने गरेको मनोविज्ञान बुझेका थिए । यसबाट फिर¨ीहरुले नेपालको आन्तरिक मामिला थाहा पाएर विदेशमा गोप्यता भ¨ गर्न नपाउन, देशमाथि सङ्कट आइ नलागोस भनेर सीमा क्षेत्र र गढीहरुमा चौकी स्थापना गरेका थिए । उनले राहदानीको व्यवस्था गराएका थिए । जनरलको छाप लगाएको राहदानीबाहक व्यक्तिलाई मात्र चेकजाँच गरेर नेपालभित्र आवतजावत गर्ने व्यवस्था मिलाएका थिए । सीमानामा सरकारी पत्र बाहेक व्यक्तिगत पत्रलाई खोलेर मात्र पत्राचार गर्ने नियम चलाएका थिए । ढु¨ेल (२०५६ ः २८) को “मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य” मा उल्लेख गरेअनुसार चीनका बादशाहले भीमसेन थापालाई वि.सं. १८८१ सालमा लालगजुर मयुरको कल्की र खिल्लत प्रदान गरेर ठूलो सम्मान गरेका थिए ।

राजा नरेन्द्रदेवले सन् ६४३ मा नेपालबाट पहिलोपल्ट चीनको पेईचिङ राजभवनमा नेपाली प्रतिनिधि दूतमण्डल पठाएका थिए । त्यसैको ऐतिहासिक निरन्तरता स्वरुप सेप्टेम्बर १७९२ को वेत्रावती सन्धिले पनि निरन्तरता दिँदैआएको बुझ्न सकिन्छ । यो ऐतिहासिक उत्तरदानलाई मनन् गरी भीमसेन थापाले ५ वर्षे सौगात (क्विनक्वेन्नियल) मिसनको प्रतिनिधिका रुपमा अंग्रेज–नेपाल युद्धका कर्णेल भक्तवीर थापा, कर्णेल रणवीरसिंह थापा, काजी रणजोरसिंह थापा जस्ता योद्धाहरुलाई चीनको पेईचिङ पठाएका थिए ।

भक्तवीर थापा

यिनी राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाका छोरा हुन् । मानन्धर (सन् २००१ ः ३१–३९) द्वारा लिखित “अ डकुमेण्ट्री हिस्ट्री अफ नेपालिज क्विनक्वेन्नियल मिसन्स टु चाईना १७९२–१९०६” का अनुसार मुख्तियार भीमसेन थापाले काजी भक्तवीर थापालाई सन् १८०७ मा पञ्चवर्षीय उपहार (सौगात) प्रतिनिधि मिसन प्रमुख बनाएर चीनको पेईचिङ पठाएका थिए । यो मिसनमा सुवेदार डम्बर थापा, ऐमान थापा, कृष्णसिंह थापा, सिंहवीर थापा लगायतका प्रतिनिधि मिसन समावेश थिए । तर यो मिसन पेचिङ गएन । बरु, नेपाल–तिब्बत (कुती) को सीमाबर्ती क्षेत्रमा पुगेर त्यहाँ आएका चिनियाँ सौगात मिसनलाई आफ्नो सौगात (कोशेली) हस्तान्तरण गरी नेपाल फर्कियो । त्यो बेला चीनमा छिङ् सम्राट चिया चिङ थिए । नेपालबाट पञ्चवर्षीय सौगात स्वरुप केसर, जायफल, सुपारी, रुमाल, खुकुरी, तरवार, चिउरा, दालचिनी, छोगडा, मिश्री लगायतका सामानहरु चिनियाँ बादशाहलाई पठाइएको थियो । यसको अभिलेख नेपाल सरकारसँग छ । चिनियाँ बादशाहबाट पनि नेपालीले पठाएको उपहारको तुलनामा करीब दुई गुणा थप गरी नेपालमा सौगात पठाउने चलन थियो ।

काजी भक्तवीर थापा नेतृत्वको अर्को पञ्चवर्षीय सौगात मिसनलाई जून १८१२ मा चीनको पेईचिङ पठाइएको थियो । यसको अभिलेख नेपाल सरकार र चीन सरकार दुवैसँग छ । यो मिसनमा सरदार डम्बर थापा ‘क’, सुवेदार महसिंह थापा, रामचन्द्र थापा, सुवेदार डम्बर थापा ‘ख’, अर्जुन थापा लगायतका प्रतिनिधि मिसन समावेश भएकाले चिनियाँ अधिकारीहरुले यो मिसनलाई थापा मिसनबाट संवोधन गर्दथे । कर्णेल भक्तवीर थापा नेतृत्वको मिसन चीनबाट नेपालमा आउँदा चीन सरकारले उपहार दिएको ताइचीन धानको बिऊ, विरुवालाई नेपालमा ल्याएर रोपिएको कारणले ताइचीन धानलाई स्थानीय नेपाली भाषामा थापाचिनी धान पनि भनिन्छ ।

रणवीरसिंह थापा

मुख्तियार जनरल भीमसेन थापाले कान्छा भाइ कर्णेल रणवीरसिंह थापा (स्वामी अभयानन्द गिरी) लाई चिनियाँ प्रमण्डलसँग भेट गर्न १० सेप्टेम्बर १८१६ मा सौगात मिसनको नेतृत्वकर्ता बनाएर तिब्बतको केरुङ पठाएका थिए । यसमा दलभञ्जन पाँडे, भक्तवीर थापा लगायतका काजीहरुको सहभागिता थियो । यो मिसनले तत्कालीन सुगौली सन्धिबाट निर्धारित नयाँ नेपालको मूल्य मान्यता, भावना अनुरुप चीन सरकारको थप समर्थन र सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

रणजोरसिंह थापा

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाका छोरा काजी रणजोरसिंह थापा नेतृत्वको पञ्चवर्षीय सौगात मिसनलाई काठमाण्डौबाट जून १८१७ मा पेईचिङ पठाइएको थियो । सन् १८१४–१८१६ को अंग्रेज–नेपाल युद्ध सकिएको लगत्तै चीनमा पठाइएको यो पहिलो नेपाली पञ्चवर्षीय मिसन थियो । यसअघि नेपालले आफ्नो अस्तित्व रक्षाको लागि ब्रिटिस साम्राज्यवाद विरुद्ध ठूलो प्रतिरक्षा युद्ध लड्नु परेको थियो । मुख्तियार भीमसेन थापाले चीनसँग सम्बन्ध प्रगाढ बनाइ अन्तराष्ट्रिय सहयोग जुटाउन काजी रणजोरसिंह थापा नेतृत्वको मिसनलाई चीन पठाएका थिए । चीनले यो मिसनलाई सहयोग गरेको हिसाबले नेपालमा यो मिसनको ठूलो महत्व छ । यसले तत्कालीन नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा निर्णायक भूमिका खेलेको थियो । काजी रणजोर थापा वि.सं. १८६१ असोजमा १७ वर्षको उमेरमा प्रशासक भएर लालमण्डी किल्लाको विषयमा नेपाली जनताको तर्फबाट सबैभन्दा कम उमेरमा रुक्का जारी गर्ने पहिलो नेपाली हुन् ।

कर्णेल त्रिविक्रमसिंह थापा

त्रिविक्रमसिंह थापाको अर्को नाम तिल विक्रमसिंह थापा पनि हो । उहाँले वि.सं. १९०३ (सन् १८४६) अगाडि नै काजीको पद पाएकाले जंगबहादुर लगायत ७ भाइहरुले उहाँलाई ‘काजी मामा’ भनेर संवोधन गर्ने गर्थे । ज.ब.रा. (२०५२÷१२÷४) ले साप्ताहिक जनज्योतिमा उल्लेख गरेअनुसार कर्णेल त्रिविक्रमसिंह थापा ‘काजी मामा’ को बुबाको नाम भक्तवीरसिंह थापा हो । थापा (२०८० ः २३) को “नेपाल–चीन सम्बन्ध (इतिहास र वर्तमान)” का अनुसार भोट तिब्बतले नेपालसँग गरेको बेत्रावती सन्धिबाट तिब्बत सन्तुष्ट भएको थिएन । परिणामतः तिब्बती पक्षबाट एकाएक बेत्रावती सन्धिका शर्तहरु उल्लंघन भए । यसैबेला चीन पनि अफिम युद्धले कमजोर बनेको थियो । यस्तो बेला चीनले नेपालबाट सहयोगको अपेक्षा राख्नु स्वभाविक हो । थापा (२०८० ः २३) का अनुसार बमबहादुर कुंवरको नेतृत्वमा गोरखाली फौज मार्च ६, १८५५ मा तिब्बत आक्रमण गर्न गएको थियो । गोरखाली फौजले अप्रिल ३, १८५५ मा तिब्बती सेनामाथि आक्रमण गरी परास्त ग¥यो । ज.ब.रा. (२०५२÷१२÷४) ले साप्ताहिक जनज्योतिमा उल्लेख गरेअनुसार वि.सं. १९११÷१२ तद्अनुसार सन् १८५५÷५६ मा नेपाल–भोट युद्ध हुँदा सन्धिमा कुरा मिलाउन नेपाल सरकारले भोट सरकारको आग्रहमा काजी त्रिविक्रमसिंह थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डल शिकारजोङ्मा पठायो । हालसम्म विजय गरेको तिब्बती भूमि नेपालमै गाभ्ने, नेपाली जनताको लुटपाट र युद्धमा लागेको खर्च हर्जानास्वरुप भोट (तिब्बत) सरकारले तिर्नुपर्ने कुरामा नेपाल सरकार अडिग रहयो । भोट सरकारका प्रतिनिधिहरुले यो शर्तलाई मञ्जुर गरेनन् । तसर्थ कर्णेल त्रिविक्रमसिंह थापा काठमाण्डौ फर्किआए । त्यसपछि तिब्बती प्रतिनिधि कालोन शात्र काठमाण्डौ आए । वि.सं. १९१२ चैत्र (मार्च २४, १८५६) मा तत्कालीन प्रधानमन्त्री निवास तथा कार्यालय थापाथली दरवारमा नेपाल–तिब्बतबीच १० सूत्रीय सन्धिमा हस्ताक्षर भयो । यो ऐतिहासिक सन्धिलाई “थापाथली सन्धि” भनिन्छ । यो सन्धिमा तिब्बतले नेपाललाई सलामीस्वरुप प्रतिवर्ष रु. १० हजार बुझाउने, नेपाल र तिब्बतमाथि कुनै विदेशी शक्तिले आक्रमण गरेको खण्डमा तिब्बतलाई सकेसम्म सहयोग गर्न तत्पर रहने, ल्हासामा नेपालले आफ्नो व्यापारिक कोठी खोल्न पाउने लगायतमा सन्धि भएको थियो । यो सन्धिमा कर्णेल त्रिविक्रमसिंह थापा “काजी मामा” को पनि सहिछाप परेको इतिहासकार पुरुषोत्तम शमशेर ज.ब.रा.ले उल्लेख गरेका छन् ।

निष्कर्ष
नेपाल–चीन सम्बन्धमा चिनियाँहरुले भन्ने गरेको ऐतिहासिक थापा मिसनको योगदानलाई चीनको इतिहासमा महत्वको साथ हेरिदै आएको छ । नेपाल–चीन (भोट तिब्बत) सम्बन्धको यो परम्परागत पृष्ठभूमिबाट माथि उठ्दै आएको वर्तमान आधुनिक सम्बन्धले पनि शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न उत्प्रेरित गरिरहेको छ ।

(लेखक राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा कल्याणकारी परिषद्का कार्यकारी सदस्य हुनुहुन्छ) ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *