रविमाथि मानव अधिकार हनन भएको छैन, जिबीलाई नेपाल ल्याउने प्रयत्न जारी छः गृहमन्त्री

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधवार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । उनले भने, ‘अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्नुपर्ने निकायले गर्ने हो । त्यसका लागि प्रहरी छ अनुसन्धान गर्नका लागि । त्यो अनुसन्धानलाई आवश्यक निर्देशन दिनका लागि, सहजीकरण गर्नका लागि, सहयोग गर्नका लागि महान्यायाधिवक्तासहितको सरकारी वकीलको त्यत्रो ठूलो संगठन छ । त्यसपछि अभियोजन गरिसकेपछि न्यायिक प्रक्रियामा जान्छ र अदालतले त्यसमा छिनोफानो गर्छ । त्यसकारण कुनैपनि खालको अनुसन्धानलाई फलानो गृहमन्त्री हुँदा अनुसन्धान एक ढंगले हुने, फलाने गृहमन्त्री हुँदा अनुसन्धान अर्का ढंगले हुने किसिमले जानु हुँदैन । ’

यस्तै उनले यो भन्दा पहिला के भयो अब ति कुराहरुका बारेमा म चर्चा आँफूले नचाहेको बताए । उनले प्रहरी जस्तो संगठनलाई शान्ति सुरक्षा जस्तो जोडिएको महत्वपूर्ण संगठनलाई दुरुपयोग गर्न नहुने बताए ।

उनले भने, ‘कसैका पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न हुँदैन । उसलाई व्यवसायिक ढंगले काम गर्न दिनुपर्छ । म त्यो कुरामा प्रतिवद्ध छु । अनुसन्धान गर्दा कसैलाई ग¥यो, कसैलाई गरेन भन्नेकुरा होइन । सबैका माथि अनुसन्धान हुन्छ । मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन । कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन । प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ । एक जना मानिसका माथि मात्रै अनुसन्धान भएको होइन । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भएको छ । सयौँ मान्छेहरु थुनामा परेका छन् । विदेशबाट समेत मान्छेहरुलाई ल्याइएको छ ।’

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताए । उनले उनिमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताए । उनले काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै प्रश्न गरे ।

अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गरे।

उनले भने, ‘रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकारको उल्लंघन भयो भनेर केही साथीहरु बोल्नुभयो । प्रमुख प्रतिपक्ष दलको नेता पनि बोल्नुभयो । हाम्रै पार्टीका नेताहरु पनि बोल्नुभयो । उहाँको कुनै मानव अधिकारको उल्लंघन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैरकानूनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो । त्यो शान्ति सुरक्षा भनेको सबैका लागि हो, उहाँका लागि पनि हो । अनुसन्धान त हुन्छ त । आपराधिक कार्यमा अनुसन्धान हुँदैन ? लाखाँै मानिसको अर्बौं रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भएको छ, दुरुपयोग भएको छ, ठगी भएको छ, हिनामिना भएको छ, कसको पैसा, सहकारीमा पैसा राख्ने मान्छे सबै धनीमानी छन् । फुटपाथमा मकै पोलेर मकै बेच्ने र त्यसबाट आएको आर्जनले आफ्ना सन्तानको छाक काटेर बचाएर राखेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन । तिनको मानव अधिकारको चिन्ता छैन । अनुसन्धान हुन्छ, मानव अधिकारको कुनै हनन भएको छैन । अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकीलको कार्यालय घेरेको छ, कहिले अदालत घेर्न कोशिस गरेको छ । अनि भीडले न्याय गर्दछ ? अनि हामीले यत्रो पद्धति बनाएका छौँ, यत्रो लोकतन्त्र, यत्रो संविधान, अनि समाजलाई मर्यादिन, सभ्य, राम्रो, बनाउँदै लैजाने होइन, यदी भीडले नै न्याय गर्ने हो, भीडले नै न्याय गर्ने हो भने पुलिस किन चाहियो, सरकारी वकील किन चाहियो । प्रक्रियामा त सबै जानुप¥यो नि । सडकबाट न्याय प्रभावित गर्ने कोशिसहरु भएको हुनाले शान्ति सुरक्षा कायम गर्नका लागि उहाँलाई लैजानुपर्‍यो । उहाँ काठमाडौंबाट पोखरा राति जाँदा मानव अधिकार हनन हुँदैन, चितवनबाट पोखरा जाँदा हनन हुन्छ ? दूरी छोटो भएर हनन भएको हो ?’

गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘जहाँसम्म जीवि राईको कुरा यहाँले गर्नुभयो । उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ । हामीले गर्नेकुरा गरिरहेका छौँ । त्यसकाबारेमा अगाडि के हुन्छ हेरौँ । हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा । जो संलग्न छ, अनुसन्धान भइरहेको छ ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताए । चीन भ्रमणका क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताउए । उनले संघ प्रहरीको कानून नयाँ बनाउने काम भइरहेको बताए। सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए । संघको प्रहरीलाई थप व्यवस्थित, प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बइ भयो । प्रहरी समायोजनको काम पनि अब चाँडै हुने प्रतिवद्धता जनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *