संघीय संसद सचिवालयले भोलि संविधान संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट भोलि नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची राखिएको छ । संघीय संसद सचिवालयले भोलि संविधान संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट संशोधन विधेयक पारित गर्नेगरी कार्यसूची तयार गरिएको बताएका छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर वास्तविक भूभागसहितको नक्सा नेपालको निशान छापमा समेट्नका लागि संविधानको अनुसूची ३ परिवर्तन गर्न संविधान संशोधन हुन लागेको हो । भोलि संशोधन विधेयक पारित भएपछि यसले वैधानिकता प्राप्त गर्नेछ ।

प्रतिनिधिसभामा रहेका सबै दल तथा सांसदहरु संशोधन विधेयकको पक्षमा रहेका छन् । भोलिको बैठकमा संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन (संशोधनको पक्ष र विपक्षका सांसदको हस्ताक्षर)का आधारमा गरिनेछ ।

संसदले पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले लागू भएको घोषणा गरेपछि निशान छाप परिवर्तन हुने संवैधानिक व्यवस्था रहेको छ ।

Facebook Comments Box