वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रम ओलीको आह्वान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई आह्वान गर्नुभएको छ । साथै उहाँले आवश्यक सहजीकरणको काम गर्न अभिभावक तथा शिक्षकलाई आग्रह पनि गर्नुभएको छ ।
विद्यालय तहका बालबालिकाको सिकाइ कार्यक्रमको सुरुवातका अवसरमा सोमबार दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले विद्यालय सञ्चालनमा आउन नसकेको अवस्थामा वैकल्पिक विधिबाटैै सुरु भएको पठनपाठनमा सहभागी हुन आह्वान गर्नुभएको हो ।
सरकारले असार १ गतेदेखि कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन अवरुद्ध भएका बालबालिकाको सिकाइमा थप क्षति नहोस् र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेको छ । उहाँले विद्यार्थी समूह सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
यसअघि सरकारले कोरोना भाइरसका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका विद्यालय तहका लाखौँ विद्यार्थीलाई असार १ गतेबाट वैकल्पिक विधिबाट पढाउने घोषणा गरेको थियो । सोअनुसार अब विद्यार्थीले शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्यापनलाई निरन्तरता दिने अवस्था सिर्जना भएको हो ।
कोरोना महामारीले सिर्जना गरेको प्रतिकूूलतासँगै केही अवसरसमेत सिर्जना भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘‘प्रत्यक्ष कक्षा सञ्चालन हुन नसके पनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन, अफलाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउन वैकल्पिक प्रणाली सुरु गरिएको हो । ’’
प्रविधि घरघरमा प्रवेश गरेको र यसलाई एउटा विशेष अवसरमा लिनुपर्ने उल्लेख गर्दै उहाँले कोरोना महामारीपछिको विद्यार्थी समूह सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सरकारले वैकल्पिक प्रणालीबाट सिकाइको सहजीकरणका लागि निर्देशिका जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको जनाउनुभएको छ ।
प्रविधिमा पहुँचका आधारमा विद्यार्थीको वर्गीकरण गरिएको उहाँले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभएको छ । यसमा आवश्यक सहजीकरणको काम गर्न प्रधानमन्त्रीले अभिभावक तथा शिक्षकलाई आग्रह गर्नुभएको छ । वैकल्पिक विधिबाट पढाउने यो अभियानलाई सफल बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सामग्रीको विकास गरिरहेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययन सामग्रीसहित रेडियोको माध्यमबाट तथा टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजनमार्फत पठनपाठन गराउने घोषणा प्रधानमन्त्रीले गर्नुभएको छ । यसका साथै कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलाई पनि सामग्री उपलब्ध गराएर पठनपाठन गराउने सरकारी तयारी छ । प्रधानमन्त्री ओलीले इन्टरनेट तथा सूचना सञ्चार प्रविधिबाट साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाइन सिकाइ सामग्रीको प्रयोगमार्फत पठनपाठन सञ्चालन गरिने जनाउनुभएको छ ।
वैकल्पिक सिकाइको प्रणालीबाट आधा करोडभन्दा बढी बालबालिका सहभागी हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा गरिने खर्च राष्ट्र या व्यक्तिको जसको भए पनि त्यसलाई समाजमाथिको लगानीका रूपमा लिइने उल्लेख गर्नुभएको छ ।

महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा नयाँ परिमार्जनको सम्भावना बढेर गएको भन्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको उल्लेख गर्नुभएको छ । शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थी दुनियाँसित प्रतिस्पर्धा गर्न सक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले उनीहरू आफ्नो विषयमा विशेषज्ञ या दक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । गोरखापत्र

Facebook Comments Box