पाेखरा । बिहिवार बिहानै थप ४२ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । जसमा हिमाली जिल्ला मनाङसहित तनहुँ, गाेरखा, नवलपरासि(बर्दघाट सुस्ता पूर्व)का ४ जिल्लामा ४२ जनामा संक्रमण पुस्टि भएकाे हाे ।
हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएपछि नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ ।
स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।
अब प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
बिहीबार भेटिएका संक्रमितमा पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार मनाङकाबाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।
क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन । स्याङजाका एक जनाको भने मृत्यु भएको छ ।