सीमाविद श्रेष्ठले दिए, लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने सुझाव

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सीमाविद वुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्साअनुसार संविधान भएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताएका छन् ।

लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने सुझाव दिए । चीनको १४ र भारतको सात स्थानमा त्रिदेशीय विन्दु कायम भए पनि नेपालको दुईवटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै सीमाविद् श्रेष्ठले चीनलाई सीमांकन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए । सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेशलगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । केन्द्रीय तथ्यांक विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै सीमाविद श्रेष्ठले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिई नेपालमा रहेका कूटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उनले सडकमा आएर दुई चार शब्द भन्दै बिच्काएर नहुने बताए । नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने वातावरण नेपालले बनाउनुपर्ने सीमाविद् श्रेष्ठले बताए । भारत वार्ताका लागि कुनै पनि हालतमा तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने उनको सुझाव छ । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्र संघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताए । नागरिकखबर

Facebook Comments Box