काठमाडौँ, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा छलफलका लागि सातबुँदे कार्यसूची प्रस्तुत भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महासचिव विष्णुप्रसाद पौडेलले कार्यसूची प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यसूची प्रस्तुत गरिसकेपछि बैठकको प्रारम्भमा अध्यक्षद्वय ओली र प्रचण्डले आआफ्नो धारणा राख्नुभएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकको प्रारम्भमा अध्यक्षद्वयले सम्बोधन गर्नुुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले देशको समग्र परिस्थितिका बारेमा सकारात्मक र नकारात्मक पक्षमा खुलेर मन्तव्य व्यक्त गर्नुुभएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको प्रयास सफल भइरहेको स्पष्ट गर्नुहुँदैअध्यक्ष ओलीले कतिपय अवस्थामा पार्टीबाट समेत सरकारको काम कारबाहीलाई सहयोग नभइरहेको गुुनासो गर्नुभयो ।
कोरोना महामारी हुँदाहुँदै देशको समग्र विकासका लागि सरकारले महìवपूर्ण कदमहरू चालेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । “सरकार धेरै हदसम्म सफल भइरहेको छ तर पार्टीबाट नै हुनुपर्ने सहयोग प्राप्त छैन,” स्थायी कमिटीका एक जना सदस्यले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुुभयो । उहाँका अनुसार पार्टीका नेताहरूले सङ्गठन सञ्चालनभन्दा पनि समूहगत छलफलमा विशेष समय दिएको गुुनासो थियो । सरकारले राम्रो काम गरे पनि त्यसको प्रचार हुन नसकेको धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो ।
सरकार आफ्नो लक्ष्य अनुसार अगाडि बढिरहेको छ, कुनै खराब काम गरेको छैन, पार्टीलाई बदनाम गराउने काम अन्यत्रबाट भइरहेको छ भन्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा आफूबाट केही कमीकमजोरी भएको छ भने त्यसलाई सच्याउन सकिने तर अरूले पनि कमीकमजोरी सुधार्नुुपर्ने बताउनुभएको थियो । पार्टी तथा सरकारले राष्ट्रियताको विषयमा असल निर्णय लिएको तर पार्टीभित्रकै नेताहरूले यसका बारेमा फरक मत राख्न लागेको गुनासो प्रधानमन्त्रीको रहेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य मणि थापाले बताउनुभयो । स्थायी कमिटीको बैठक सकारात्मक सन्देश दिने गरी सम्पन्न गर्न नेताहरूलाई उहाँले आग्रह गर्नुभयो । स्थायी कमिटी सदस्यहरूलाई आफ्ना भनाइ राख्दा स्वच्छ तरिकाले टिप्पणी गर्न आग्रह गर्दै सबैलाई सकारात्मक सोचका साथ अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।
बैठकमा अर्का अध्यक्ष प्रचण्डले कम्युनिस्टको विधि र प्रक्रिया अनुसार सरकार तथा पार्टी सञ्चालन नभएको गुनासो गर्नुभयो । आन्दोलन र आदर्शका आधारमा पार्टी र सरकार सञ्चालन गर्नुपर्ने भन्दै उहाँले जनताले गरेको अपेक्षा अनुसार सेवा दिन नसकेको गुनासो सबैतिर बढ्दै गएको धारणा राख्नुभएको एक जना सदस्यले जानकारी दिनुुभयो ।
पार्टी तथा सरकारमा थुप्रै कमीकमजोरी देखिएका छन्, त्यसलाई छलफल गरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्नुहुँदै उहाँले यो बैठक तिनै महìवपूर्ण विषयमा छलफल गरी नयाँ ढङ्गबाट पार्टी र सरकारलाई अगाडि बढाउन आग्रह गर्नुभएको सदस्य थापाको भनाइ छ । लामो सङ्घर्ष र बलिदानीबाट कम्युनिस्ट पार्टीबीच एकीकरण भएको र यसलाई त्यतिकै खेर जान नदिने बताउँदै उहाँले एकताको उद्देश्य र भावना अनुसार पार्टी र सरकार सञ्चालन हुनुपर्ने कुरामा जोड दिनुभयो । पार्टीभित्रका नेताहरूमा कमीकमजोरीहरू छन्, त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने आवश्यकतामा अध्यक्ष प्रचण्डको जोड छ । स्थायी कमिटीको अर्को बैठक असार १२ गते बिहान ११ बजे बालुवाटारमा बस्ने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा कोरोना भाइरस रोग (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधानका कदम, सरकारको कामको समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताको बाँकी कामको पूर्णता दिने विषय कार्यसूचीमा थिए । त्यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे र विविध शीर्षकमा रुकुम घटना, हालै प्रस्तुत नागरिकता विधेयक तथा सांसद र प्रदेश सभा सदस्यको बैठक भत्ताको विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र
Facebook Comments Box