अध्यक्षद्वय ओली र प्रचण्ड बीच झण्डै तीनघन्टा भेटवार्तापछि दुवै पक्ष आन्तरिक छलफलमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै तीनघन्टा भएको भेटवार्तापछि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच सहमतिका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन सकेको छैन । भेटवार्तामा सहभागी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले सकरात्मक छलफल भएको प्रतिक्रिया दिएका छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली बिहीबारको स्थायी कमिटी बैठकमासमेत गएनन् । बरु प्रचण्डसँगको छलफलमा भएको सहमति अनुसार संसद बैठक अन्त्य नगर्ने निर्णय कार्यान्व्यन गरेनन् । सल्लाह नै नगरी संसद बैठक अन्त्य गरे ।

दुवै पक्ष छलफलमा

प्रचण्ड र ओलीबीच भएको छलफलका आधारमा दुवै पक्षले छलफल थालेका छन् । प्रधानमन्त्रीले आफू निकट नेतासँग परामर्श गरेका छन् भने प्रचण्डले वरिष्ठनेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेतासँग छलफल गरेका छन् ।

बालुवाटारमा भएको छलफलमा सुरुवातमा प्रधानमन्त्री ओलीले आफ्नो अडान कायम राखेका थिए । तर अन्तिम समयमा उनी जेठ २ गतेको सहमति अर्थात आधा आधा कार्यकाल प्रधानमन्त्री हुने प्रस्तावमा थप छलफल गर्न तयार भएका स्रोतको दावी छ ।

अहिले बालुवाटार र ललितपुरमा भएका छलफलका आधारमा नेकपाको भोलिको बैठक तय हुनेछ । सहमतितर्फ उन्मुख भएमा स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बस्नेछ । तर, त्यसअघि दुई अध्यक्षको भेटवार्ता हुनेछ ।

Facebook Comments Box