वन्यजन्तुको आवागमनका लागि नेपालमा पहिलो ओभरहेड ब्रिज बन्ने योजना तयार

खवर पाटी (खोज खबरको अभियान)

बर्दिया । बर्दियाको खाता करिडोर क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको आवतजावतका लागि ओभरहेड ब्रिज बन्ने भएको छ । राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा यो योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । गौमुखि इन्जिनियरिङ्ग सर्भिस प्रालि ललितपुरले यसको डिपिआर तयार गरेको हो ।

खाता करिडोर क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । यो योजना निमार्णका लागि करिव ९ करोड रुपैँया लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै आर्थिक वर्ष २०७७÷०७८ देखि निमार्ण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लले बताए । वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नं ५ को यो एकदमै नविनतम योजना रहेको बताइएको छ ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरि यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख,विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महशुस गर्ने छन्

खाता करिडोर क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिव साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । वन्यजन्तुको आवागमन बढी हुने क्षेत्रमा ओभरहेड ब्रिज बन्ने भएको हो । खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगाएतका संरक्षित वन्यजन्तुहरु नियमितरुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन् ।

वन्यजन्तुको आवागमनलाई मध्यनजर गरि खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बन्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ । खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको छ ।

नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लले बताए ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरि यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख,विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महशुस गर्ने छन् । करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि बन्यजन्तुहरु निवार्धरुपमा एक वनवाट अर्को वनमा आतजावत गर्न सक्ने छन् । भने सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनिकरण हुनुका साथै मानव–वन्यजन्तु द्धन्द्धसमेत कम हुने संरक्षणकर्मीहरु बताउँछन् ।

वन्यजन्तु ओहरदोहर गर्ने खाता करिडोरमा वन्यजन्तुमैत्री संरचना निमार्ण गर्न संरक्षणकर्मीहरुले विगतदेखि नै माग गर्दै आएका थिए । खाता करिडोर क्षेत्रमा वन्यजन्तुमैत्री संरचना निमार्णका लागि बहुसरोकारवाला सवालमा सहजिकरण गर्दै आइरहेको संवाद समूह बर्दियाले सरोकारवाला पक्षहरुसँग विभिन्न समयमा अन्तरक्रिया गर्दै आइरहेको थियो ।

२ वर्ष अघि जिल्लामा भएको जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्वन्धी अन्तरक्रियामा प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिवद्धता जनाएका थिए ।  राजधानी

Facebook Comments Box