महासंघको उम्मेदवारी घोषणा: राजनीति गर्न, फोटो झुन्ड्याउनका लागि यहाँ आएको होइन -शेखर गोल्छा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुन्ड्याउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन् ।

महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफू राजनीति गर्न र फोटो झुन्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताए ।

गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्वअध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफूले काम गर्ने प्रतिवद्धता व्यक्ति गरे ।

‘मेरो नीति स्पष्ट छ । यसका लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्न, फोटो झुन्ड्याउनका लागि यहाँ आएको होइन,’ उनले भने, ‘म केही काम गर्नका लागि आएको छु । यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्वअध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो ।’

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकाले महासंघभित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताए । उनले राम्रो काम गर्नका लागि बलियो टिम आवश्यक रहेकाले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

गोल्छाले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौती रहेको समेत बताए । ‘यस्तो समयमा म अध्यक्ष बन्दैछु । हाम्रो अर्थतन्त्रमा सायद योभन्दा ठूलो गम्भीर घडी पहिला कहिले पनि थिएन,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन । मैले उद्योग वाणिज्य महासंघमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असर छ, त्यो असरलाई निर्मुल गरेर अर्थतन्त्रलाई फेरि चलायमान गर्नुपर्ने मेरो बाटो प्रष्ट रुपमा मैले देखेको छु ।’

महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफूले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने गोल्छाले बताए ।

Facebook Comments Box